हेटौंडा । बागमती प्रदेश सरकारले सवारी चालक अनुमतिपत्र कालागि ‘डिजिटल लाइसेन्स’ लाई प्राथमिकता दिने भएको छ ।
यातायात व्यवस्था विभागले समयमै सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को व्यवस्था गर्न नसकेपछि बागमती प्रदेश सरकारले नागरिक एपमा रहेको लाइसेन्सलाई नैं मान्यता दिने भएको हो । बागमती प्रदेश सरकारको श्रम, रोजगार तथा यातायात मन्त्रालयका सचिाव बलराम निरौलाले नागरिक एपमा देखिने लाइसेन्ससँगै क्यूआर देखिने भएकाले त्यसैलाई मान्यता दिने बताउनुभयो ।
स्मार्ट लाइसेन्सको सिस्टमको कन्ट्रोल यातायात व्यवस्था विभागसँग भएको र प्रिन्ट गर्न प्राविधिकरुपले झन्झटिलो हुनुकासाथै समन्वयमा समेत समस्या भएकाले प्रदेश सरकारले नागरिक एपमा रहेको लाइसेन्सलाई नै मान्यता दिने तयारी भएको सचिव निरौलाले जानकारी दिनुभयो । नागरिक एपको क्यूआरलाई ट्राफिक प्रहरीले स्क्यान गर्दा थप विवरण देखिने र त्यसलाई मान्यता दिने उहाँको भनाई छ ।
बागमती प्रदेश सरकारले डिजिटल लाइसेन्स लागु गर्नकालागि ट्रााफिक प्रहरीलाई स्मार्टफोन दिने तयारी पनि गरेको छ । नागरिक एपको क्यूआर डिक्टेट गर्न प्रदेशभरका ट्राफिक प्रहरीकालागि ५ सय वटा स्मार्टफोन बितरण गर्ने बागमती प्रदेश सरकारको योजना छ ।
प्रदेशको श्रम मन्त्रालयका अनुसार लाइसेन्सको हार्डकपी भन्दा पनि सफ्टकपीलाई मान्यता दिएर काम गर्ने तयारी भइरहेको छ । यसकालागि नागरिक एप र ट्राफिक प्रहरी कार्यालयसँग समन्वय भइरहेको प्रदेश सचिव निरौलाले बताउनुभयो । उहाँका अनुसार सवारी लाइसेन्सको हार्ड कपी आवश्यक हुनेहरुलाई क्यूआर सहितको लाइसेन्स दिइने छ ।
यस्तो क्यूआर सहितको लाइसेन्स स्वदेश वा विदेशवाट स्क्यान गर्दा सवारी चालकको सवै विवरण देख्न सकिने छ ।