images
images

जिरी च्याम्पियनसिपःसेमिफाइनल प्रवेश नगरी दोलखा बाहिरियो

  • १८ कार्तिक २०८०, शनिबार ११:०९

जिरी (दोलखा) । दोलखाको जिरी नगरपालिकामा जारी बागमती प्रदेश अन्तरपालिकास्तरी भलिवल प्रतियोगितामा दोलखा सेमिफाइनल प्रवेश नै नगरी बाहिरिएको छ ।

जिरी च्याम्पियनसिप अन्तर्गत जिरीमा बुधबारदेखि सुरु भएको भलिबल प्रतियोगितामा सहभागी दोलखा जिल्लाका ९ टिम सेमिफाइनल प्रवेश नै नगरी बाहिरिएको हो । प्रतियोगितामा जिल्लाबाट आयोजक जिरी नगरपालिकाको ३ सहित ९ टिमको सहभागीता थियो । जिल्लाको ७ पालिकाको सहभागीता रहँदा भीमेश्वर नगरपालिका र शैलुङ गाउँपालिकाबाट भने कोही सहभागी भएका थिएनन् । अहिले सेमिफाइनलको खेल भइरहेको छ । सेमिफाइनलको पहिलो खेलमा रामेछापको गोकुलगंगा गाउँपालिका र चितवनको भरतपुर महानगरपालिकाबीच प्रतिस्पर्धा भएकोमा भरतपुर महानगरपालिले जित निकालेको छ । प्रमुख दावेदारको रुपमा प्रस्तुत भएको गोकुलगंगालाई सेमिफाइनलमा पुगेर भरतपुरले पछि सारेको हो ।

त्यसपछि लिखु तामाकोशी र थाहा नगरपालिकाबीच दोस्रो सेमिफाइनल सुरु भएको छ । सेमिफाइनलबाट विजयी टिम फाइनलको लागि प्रवेश गर्नेछ । जिरी च्याम्पियनसिप स्पोर्टस फेस्टिबल अन्तर्गत खुला भलिबल प्रतियोगिताको पहिलो पुरस्कार १ लाख ५१ हजार रहेको छ भने दोश्रो, तेश्रो र सान्तवना पुरस्कार क्रमश १ लाख १ हजार, ५१ हजार र २५ हजार रुपैयाँ रहेको छ । जिरी च्याम्पियनसिप अन्तर्गत भलिबल बाहेक अन्य धेरै खेलहरु गर्ने योजना भएपनि हाललाई स्थगित गरिएको आयोजकले जनाएको छ । भलिबल बाहेक केही खेल मात्रै भएका छन् । प्रतियोगिताका विजेताहरुलाई आजै पुरस्कार वितरण गरिनेछ ।

जिरी नगरपालिका र युवा सञ्जाल जिरीको आयोजनामा भएको जिरी च्याम्पियनसिप प्रतियोगिताको समापन आज हुनेछ । प्रदेशसभा सदस्य कुन्दनराज काफ्लेबाट उद्घाटन गरिएको च्याम्पियनसिप प्रतियोगिताको समापन संघीय सभा सदस्य गंगा कार्कीबाट हुने युवा सञ्जाल जिरीले जनाएको छ ।