
जिरी (दोलखा) । नेकपा एमाले दोलखाका नेता तथा कार्यकर्ता पर्यटकीय नगरी जिरी केन्द्रित भएका छन् ।
हिजोदेखि जिरीमा जारी तीन दिने ‘प्रशिक्षक प्रशिक्षण’ कार्यक्रममा जिल्लाका नेताकार्यकर्ता जिरी भेला भएका हुन् । नेकपा (एमाले) दोलखा जिल्ला कमिटीले आयोजना गरेको तीन दिने प्रशिक्षक प्रशिक्षण कार्यक्रमको हिजो नेकपा एमालेका महासचिव शंकर पोखरेलले उद्घाटन गर्नुभएको थियो । उद्घाटनको क्रममा पोखरेलले समसामयिक राजनीतिक परिस्थिति र दशौं महाधिवेशनको कार्यदिशाका बारेमा ब्रिफिङ गर्नुभएको थियो ।
यस्तै, स्थायी कमिटी सदस्यहरु काशीनाथ अधिकारी, भानुभक्त ढकाल, डा. राजन भट्टराई, पोलिटव्युरो सदस्यहरु पार्वत गुरुङ, सुजिता साक्य, इश्वरी रिजाल र बागमती प्रदेश कमिटीका अध्यक्ष कैलाश ढुंगेल लगायतका नेताहरु पनि जिरी आएका छन् । हिजो पहिलो दिन कार्यक्रममा जनसंगठन र पार्टी बीचको अन्तर–सम्बन्धका बारेमा स्थायी कमिटी सदस्य एवं जनसंगठन समन्वय समयन्त्रका संयोजक भानुभक्त ढकाल तथा भु–राजनीति र कुट्नीतिक समबन्धका बारेमा परराष्ट्र मामिला विभाग प्रमुख डा. राजन भट्टराईले प्रस्तुती दिनुभएको थियो ।
पार्टी अध्यक्ष नरबहादुर श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा पार्टी पोलिटव्युरो सदस्य पार्वत गुरुङ तथा जनसंगठन समन्वय समयन्त्र वागमती प्रदेश संयोजक रचना खड्काले प्रशिक्षणको महत्व र औचित्यका वारेमा जानकारी दिनुभएको थियो । केन्द्रिय सदस्यहरु सरस्वती बस्नेत, केन्द्रीय समन्वय कमिटी संयोजक श्याम वस्नेत लगायत जिल्लाका अध्यक्ष, उपाध्यक्ष र सचिव लगायतका पदाधिकारी सहितका नेताहरुको पनि सहभागीता रहेको छ ।
प्रशिक्षणमा ७५ जना भन्दा बढी नेता कार्यकर्ताको सहभागीता रहेको नेकपा एमाले दोलखाले जनाएको छ । एमालेको प्रशिक्षक प्रशिक्षण कार्यक्रम भोली सकिनेछ ।