
जिरी (दोलखा) । प्रतिकुल मौसमका कारण दोलखाको पर्यटकीय नगरी जिरीमा जारी जिरी च्याम्पियनसिप अन्तर्गत खुल्ला भलिबल प्रतियोगिताको फाइनल खेल प्रभावित भएको छ ।
आज दिउँसो वर्षा भएसँगै जिरी च्याम्पियनसिप अन्तर्गतको भलिबल खेल भोली विहान ८ बजे सम्मको लागि स्थगित भएको हो । सेमिफाइनको खेल सम्पन्न भएपछि फाइनल सुरु हुँदै गर्दा बर्षा भएको थियो । वर्षाका कारण आजको लागि खेल स्थगित गरिएको युवा सञ्जाल जिरीका अध्यक्ष जगदिश खड्काले जानकारी दिनुभयो । सेमिफाइनलबाट चितवनको भरतपुर महानगरपालिकाका खेलाडी र मकवानपुको थाहा नगरपालिकाका खेलाडीहरु फाइनलमा प्रवेश गरेका छन् ।
फाइनलमा भरतपुर र थाहाबीचको खेल रोचक हुनेछ । रामेछापको गोकुलगंगा र लिखु तामाकोशी गाउँपालिका भने सेमिफाइनलबाट बाहिरिएको हो । सेमिफाइनलमा भरतपुर महानरपालिकासँग पराजित भएको गोकुलगंगाले लिखु तामाकोशीलाई पछि पार्दै तृतीय स्थान ओगटेको छ । यो सँगै लिखु तामाकोशीले सान्त्वनामा चित्त बुझाएको छ । उनीहरुलाई आजै प्रतिनिधिसभा सदस्य गंगा कार्कीद्धारा पुरस्कार हस्तान्तरण गरिएको आयोजकले जनाएको छ ।
तृतीय र सान्त्वना हुनेले क्रमशः ५१ हजार र २५ हजार सहित सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । प्रथम र द्धितीय हुनेले खेलाडीहरुले १ लाख ५१ हजार र १ लाख १ हजार पाउनेछन् ।