दोलखा । दोलखावाट प्रदेशसभा २ मा प्रतक्ष्यतर्फ उम्मेदवार बनेका नेपाली कांग्रेस दोलखाका सभापति बर्मा लामाले आफ्नै पार्टीवाट अन्र्तघात गरेर निर्वाचन हराएको आरोप लगाएका छन् ।
प्रदेशसभा २ को अन्तिम मत परिणाम आउनु अगावै सामाजिक सञ्जाल मार्फत आफ्नो भनाई सार्वजनिक गर्दै लामाले जित्दा जित्दैको चुनाव हराएको आरोप लगाएका हुन् । आफु हार्ने निश्चित भएपछि नेता लामाले सूर्यमुखी कांग्रेसहरुका कारण जित्दा जित्दैको निर्वाचन हार्नु परेको उल्लेख गरेका छन् । लामाले सामाजिक सञ्जालमा भनेका छन्, ‘सूर्यमुखी कांग्रेसहरु जसले जित्दा–जित्दैको निर्वाचन हराउन सफल हुनुभयो । त्यस्ता नेता, कार्यकर्ता र पत्रकारजीहरुलाई समेत बद्याई ।’
उम्मेदवार लामाले हिजो पनि सामाजिक सञ्जाल मार्फत दोलखाका केही ठूला कांग्रेस नेताहरुले रकम कलमको बलमा खेमा परिचालन गरेर घरभित्रै बसेर घर भत्काउने काम गरेको प्रमाणित भएको उल्लेख गरेका थिए । पार्टीमा धमिरा–मुसा प्रवृति प्रमाणित भएको भन्दै त्यो एक प्रकारको रोग भएको र अप्रेशन गर्ने तयारीमा भएको लामाले बताएका थिए ।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादीको गठबन्धनवाट साझा उम्मेदवार बनेका लामाले कांग्रेस नेता, कार्यकर्ता, मतदाता र सहयोगीहरुलाई धन्यवाद पनि दिएका छन् ।










