images
images

दोलखामा पुनः निर्वाचनको अंकगणित, एमालेलाई भन्दा गठबन्धनलाई फाइदा

जिरी (दोलखा) । दोलखामा पुनः निर्वाचन भएको अधिकांश स्थानमा गठबन्धनका उम्मेदवारले बढी मत पाएका छन् ।

एमालेले बुथ कब्जा भएको भन्दै उजुरी गरेपछि निर्वाचन आयोगले मंसिर १५ गते पुनः निर्वाचन गराएको वडाहरुबाट एमालेले भन्दा गठबन्धनले बढी मत प्राप्त गरेका हुन् । जसअनुसार पुनः निर्वाचन भएको बैतेश्वर ३ मिर्गेमा प्रतिनिधिसभातर्फ माओवादी केन्द्रका गंगा कार्कीले एमालेका उम्मेदवार शिवाकोटीले भन्दा ७ सय १५ मत बढी ल्याएका छन् । कार्कीले ९ सय ३६ मत पाउँदा शिवाकोटीले २ सय २१ मतमा चित्त बुझाउनुपरेको छ । मिर्गेमा प्रदेशसभातर्फ पनि गठबन्धनका उम्मेदवार कांग्रेसका कुण्दनराज काफ्लेले बढी मत ल्याएका छन् । उनले ९ सय ५७ मत ल्याउँदा एमालेका नरबहादुर श्रेष्ठले २ सय १० मत मात्रै पाएका छन् । सो वडामा काफ्लेले ७ सय ४७ मत बढी पाएका हुन् ।

यसैगरी, बैतेश्वर ६ नाम्दुमा प्रतिनिधिसभातर्फ माओवादीका कार्कीले ५ सय ६५ मत पाउँदा शिवाकोटीले ४ सय ७९ मत पाएका छन् । सो वडामा कार्कीले ८६ मत बढी प्राप्त गरेका छन् । प्रदेशसभातर्फ पनि नाम्दुबाट कांग्रेसका उम्मेदवारले ४ सय ३ बढी मत प्राप्त गरेका छन् । त्यहाँ काफ्लेले ७ सय ४२ र श्रेष्ठले ३ सय ३९ मत पाएका छन् । बैतेश्वरको वडा नम्बर २ पुतलीकाठमा भने प्रतिनिधिसभातर्फ एमालेका उम्मेदवारले १ सय ४७ मत बढी ल्याएका छन् । शिवाकोटीले ४ सय ८९ मत पाउँदा कार्कीले ३ सय ४२ मत मात्रै पाएका हुन् । पुनः मतदान भएको अन्य स्थान र वडाको तुलनामा पुतलीकाठमा भने एमालेको उपलब्धी देखिन्छ ।

उता, तामाकोशी गाउँपालिकामा ३ जफेमा पुनः मतदान भएको स्थानबाट प्रतिनिधिसभातर्फ माओवादीका गंगा कार्की र एमालेका बालकृष्ण शिवाकोटी दुवैको बराबरी मत आएको छ । ८ सय ३० मत खसेको सो वडामा ३ सय ६९ मत कार्कीले र ३ सय ६९ मत शिवाकोटीले पाएका छन् । प्रदेशसभातर्फ भने काफ्लेले बैतेश्वर र तामाकोशीमा पुनः निर्वाचन भएको र पुनः निर्वाचन नभएको दुवै स्थानमा अधिकांश ठाउँबाट बढी मत पाएका छन् ।

बुथ कब्जा भएको भन्दै एमालेले पुनः निर्वाचन गराएपनि बैतेश्वर २ बाहेक ४ वटै मतदानस्थलमा गठबन्धनको बढी मत आएको छ । एमालेको निर्णयले बुथ कब्जा गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्न टेवा पुगेको छ । तर, एमालेले पुनः निर्वाचन गराएर धेरै मत प्राप्त गर्नेगरी राखेको अपेक्षा भने अपेक्षामै सिमित भएको छ । जित तथा हार जसको पक्षमा भएपनि पुनः निर्वाचनले एमालेलाई खासै राम्रो रिजल्ट भने दिएको छैन ।