काठमाडौं । दक्षिण कोरियाका राष्ट्रपति युन सुक योल देशमा सैनिक शासन (मार्शल ल) लगाउने निर्णयबाट पछि हट्नुभएको छ ।
प्रतिपक्षी दलले तीव्र विरोध जनाएपछि राष्ट्रपति योलले आफ्नो निर्णय केही घण्टामै बदल्नुपरेको हो । उहाँले गएराती राष्ट्रका नाममा सम्बोधन गर्दै देशको सुरक्षा गर्न मार्शल ल लगाउनु परेको बताउनुभएको थियो ।
सो क्रममा राष्ट्रपति योलले देशमा मार्शल ल कहिलेसम्म जारी रहन्छ भन्ने बारे स्पष्ट पार्नुभएको थिएन । तर, उक्त घोषणा लगत्तै सैनिकहरु संसद भवन र वरपरका क्षेत्रमा तैनाथ भएका थिए । उनीहरुले संसद भवनमा प्रवेशमा निषेध गरेका थिए । त्यसको प्रतिवाद गर्दै प्रतिपक्षी दल सडकमा उत्रिएको थियो ।
पिपुल पावर पार्टी र मुख्य विपक्षी डेमोक्रेटिक पार्टीले अर्को वर्षको बजेट विधेयकलाई लिएर द्धन्द्ध जारी राख्दै गर्दा राष्ट्रपति योलको यस्तो आश्चर्यजनक कदम आएको थियो । विपक्षी सांसदहरूले गत साता संसदीय समितिमार्फत उल्लेखनीय रूपमा घटाएको बजेट योजनालाई अनुमोदन गरेका थिए ।
राष्ट्रपति योलले विनाकारण सैन्य शासन लागू गरेको र उक्त निर्णय असंवैधानिक भएको प्रतिपक्षीको भनाइ थियो । त्यसपछि जताततै प्रतिपक्षीको विरोधका बीच पुनः विशेष सम्बोधन गर्दै राष्ट्रपति योलले मार्शल ल लगाउने निर्णय फिर्ता लिएको बताउनुभयो ।
उहाँले संसदले मार्शल ल हटाउन माग गरेकाले आफूले सेनालाई फिर्ता बोलाएको पनि बताउनुभयो । सम्बोधनका क्रममा उहाँले आफुले नेशनल एसेम्बलीको अनुरोधलाई स्वीकार गरी मन्त्रिपरिषद बैठकमार्फत् मार्शल ल हटाउने निर्णय गरेको बताउनुभयो ।
दक्षिण कोरियाका सांसदहरुले नेशनल एसेम्बलीको मध्यरात्रि सत्रमा ‘मार्शल ल’ लगाउने निर्णय फिर्ता हुनुपर्ने प्रस्ताव पारित गरेका थिए । यसैकारण राष्ट्रपति योल आफ्नो निर्णयबाट पछि सर्नुभएको हो ।