images
images

सरकारी नम्वर प्लेटको गाडीमा गाँजा तस्करी, चार राउण्ड गोली हानेर चालक पक्राउ

  • १९ मंसिर २०८१, बुधबार १४:४७

काठमाडौँ । सरकारी नम्वर प्लेट राखिएको गाडीमा तस्करी हुँदै गरेको ठुलो परिमाणको गाँजा सहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

सुनसरी प्रहरीले सरकारी नम्बर प्लेट राखिएको दुई वटा गाडीबाट करिव ७ सय किलो गाँजा बरामद गरेको हो । सो गाडी नियन्त्रणमा लिनका लागि चार राउण्ड गोली चलाईएको सुनसरी प्रहरी प्रमुख, प्रहरी उपरिक्षक एसपी सुमनकुमार तिम्सिनाले जानकारी दिनुभयो । प्रहरीले गाँजासहित दुई वटा गाडी नियन्त्रणमा लिएपनि चालकमध्य एक जना मात्रै पक्राउ परेका छन् ।

धनकुटाबाट धरानतर्फ जाँदै गरेको बा १ झ ५१२७ र बा १ झ ४६०५ नम्वरको सरकारी नम्वर प्लेटका दुई वटा जिपलाई प्रहरीले गएराति चेकजाँचका क्रममा नियन्त्रणमा लिएको थियो । दुवै जिपलाई रोकेर चेकजाँच गर्न खोज्दा चालक भाग्न खोजेपछि गोली हानेर एक जनालाई पक्राउ गरि गाँजा बरामद गरिएको प्रहरीले आज पत्रकार सम्मेलन गरि जानकारी गराएको छ । पक्राउ पर्नेमा मोरङको सुन्दर हरैचा –११ का ३६वर्षीय श्यामकुमार विक रहेका छन् ।

तस्कर समुहले संघीय कानुन मन्त्रालय र अख्तीयारमा प्रयोग भएको गाडी नम्वर प्रयोग गरि सोही गाडीमार्फत गाँजा तस्करी गरेको पाईएको छ । चेकजाँच नहुने भएकाले तस्करहरुको समुहले निजी गाडीमा सरकारी नम्वर प्लेट राख्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

सुनसरी प्रहरीले यसअघि एम्बुलेन्स, पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्यांकर र भारतीय नम्बर प्लेटको सवारी साधनबाट समेत ठूलो परिमाणमा गाँजा बरामद गरेको थियो ।