काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुनः एक पटक नयाँ क्रान्ति आवश्यक भएको बताउनुभएको छ ।
गणतन्त्र सेनानी कोषले आयोजना गरेको गणतन्त्र सेनानी सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले मुलुकमा नयाँ क्रान्ति आवश्यक रहेको बताउनुुभएको हो । अब हुने क्रान्ति पहिलेजस्तो सशस्त्र नभई जनतामा गएर जनताकै बलमा भ्रष्टाचार र बेथितिविरुद्ध हुने उहाँको भनाई छ ।
अध्यक्ष प्रचण्डले लाखौँ जनता सडकमा लिएर संविधान लेखनको क्रममा फरक मतको रुपमा छाडेका मुद्धा अघि बढाई गणतन्त्रलाई जनताको व्यवस्था बनाउने अभियानलाई पुर्णता दिने जानकारी दिनुुभयो । नेपालमा १० वर्षे जनयुद्ध नगरेको भए गणतन्त्र स्थापनाको कल्पनासमेत गर्न नसकिने भन्दै उहाँले जनताको तर्फबाट संगठित र व्यवस्थित रुपमा आजसम्म नेपालमा कुनै युद्ध नभएको तर्क गर्नुभयो ।
अर्काे प्रसंगमा अध्यक्ष प्रचण्डले नयाँ क्रान्तिका लागि विभाजित माओवादीलाई एकतावद्ध गर्दै आफ्नै एजेण्डा र पहिचानमा अघि बढ्ने बताउनुभयो । स्थानीय तहको उपनिर्वाचन परिणामले एक्लै निर्वाचन लडेर विजय प्राप्त गर्न सकिने पुष्टी गरेको उहाँको भनाई छ ।
प्रचण्डसहित १८ जनालाई ‘गणतन्त्र सेनानी सम्मान’
कार्यक्रममा माओवादी अध्यक्ष, गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री एवम् जनयुद्धका सर्वाेच्च कमाण्डर प्रचण्डलाई गणतन्त्र नायक सम्मानबाट सम्मानित गरिएको छ । नेकपा माओवादी केन्द्रले गणतन्त्र स्थापनमा योगदान गरेको भन्दै पार्टी अध्यक्ष प्रचण्डसहित चार डेपुटी कमाण्डर तथा सहिद, वेपत्ता परिवार र घाईते अपांगहरु गरि १८ जनालाई ‘गणतन्त्र सेनानी सम्मान’ प्रदान गरिएको हो ।
कोषले जनमुक्ति सेनाका डेपुटी कमान्डरहरु नन्दबहादुर पुन, वर्षमान पुन, जनार्दन शर्मा र चक्रपाणि खनाललाई गणतन्त्र सेनानी सम्मान प्रदान गरेको छ। कोषले बागमतीका १३ जिल्लाबाट एक एक जना र सास्कृतिकर्मीलाई पनि सम्मान गरेको छ।
गणतन्त्र सेनानी कोषले राष्ट्रिय नाचघर जमलमा आज आयोजना गरेको कार्यक्रममा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई संस्थाको तर्फबाट र अन्यलाई प्रचण्डको हातबाट ताम्रपत्र, पदक र दोसल्ला सहित सम्मान गरिएको हो । कोषले यो वर्षदेखि गणतन्त्र स्थापनाका लागि योगदान गर्ने सेनानीहरुलाई गणतन्त्र सेनानी सम्मान प्रदान गर्न सुरु गरेको हो।