images
images

प्रहरी हिरासतमै रहेका रविलाई पक्राउ गर्न धमाधम एक पछि अर्काे पूर्जी जारी

  • १९ मंसिर २०८१, बुधबार १७:०६

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति एवम् पूर्व गृहमन्त्री रवि लामिछाने विरुद्ध फेरी पर्सामा पनि पक्राउ पूर्जी जारी भएको छ ।

वीरगञ्जको सानो पाइला सहाकारी ठगी प्रकरणमा लामिछानेसहित १४ जनाविरुद्ध आज पक्राउ पुर्जी जारी भएको हो । लामिछानेमाथि कास्कीको सूर्यदर्शन सहकारी, बुटवलको सुप्रिम सहकारी, चितवनको साहारा सहकारी लगायतमा भएको रकम हिनामिनामा पनि अनुसन्धान भइरहेको छ ।

अहिले उनीमाथि चितवनमा बयान भइरहेको छ । गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका लामिछानेलाई कास्की, रुपन्देही, काठमाडौं हुँदै अहिले चितवन लगिएको हो । सुरुमा लामिछानेमाथि सहकारी ठगी र संगठित अपराधमा अनुसन्धान थालिएको थियो भने पछि कास्की प्रहरीले सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान थालेको थियो ।

प्रहरी अधिकृतहरुले यो बीचमा ऋण तिर्न भन्दै लामिछानेले काटेका चेकहरू समेत बरामद गरेको छ । वीरगञ्जको सानो पाइला सहकारीका पूर्वसंञ्चालक तथा संरक्षक जीबी राई हुन् । पाइला सहकारीले करिब ८ सय बचतकर्ताको १ अर्ब ३५ करोड रुपैयाँ बचत जम्मा गरेको थियो ।

सहकारीले ऐन विपरीत सदस्य समेत नरहेका वीरगन्ज बाहिरका व्यक्तिलाई ८२ करोड ऋण दिएर रकम अपचलन गरेको आरोप छ । यो सहकारीबाट जीबी राई सञ्चालक रहेको नेचर हब इन्टरनेशनलाई १ करोड ३७ लाख, नेचर नेष्ट प्रालिलाई १ करोड ८५ लाख र स्प्रीङ वुड रियल स्टेटलाई १ करोड एक लाख कर्जा प्रवाह गरिएको छ ।

यस्तै विशाल तामाङको नाममा ६ करोड ८३ लाख, छविलाल जोशीको नाममा १ करोड ८६ लाख, तिर्थराज लामिछानेको नाममा १ करोड ६ लाख, विमला पौडेलको नाममा २ करोड सात लाख कर्जा प्रवाह गरिएको खुलेको छ ।