images
images

माथिल्लो तामाकोशीको मर्मत सम्भारमा गम्भीर भएर लाग्न कार्यकारी निर्देशक घिसिङको निर्देशन

दोलखा । दोलखाको लामावगरस्थित माथिल्लो तामाकोशी जलविद्युत केन्द्रबाट विद्युत उत्पादनमा ढिलाई भएपछि विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ स्थलगत निरिक्षणमा आउनुभएको छ ।

बाढीबाट क्षतिग्रस्त माथिल्लो तामाकोशीको विद्युत उत्पादनमा ढिलाई भएपछि कार्यकारी निर्देशक घिसिङसहितको टोलीले आज स्थलगत निरिक्षण गरि मर्मतसम्भारको जानकारी लिएको हो । आयोजनाको प्रवद्र्धक कम्पनी अपर तामाकोशी हाईड्रोपावरका सञ्चालक समिति अध्यक्ष समेत रहेका घिसिङसहित कम्पनी सञ्चालक समिति सदस्य, प्रमुख कार्यकारी अधिकृतसहितको टोलीले आज आयोजनाको स्थलगत अनुगमन गरि हाल भईरहेको मर्मत सम्भारको जानकारी लिएको छ ।

घिसिङ नेतृत्वको टोलीले आयोजना व्यवस्थापन, परामर्शदाता र निर्माण व्यवसायीसँग छलफल गरि पुस १० भित्र विद्युत उत्पादन सुरु गर्ने र त्यसको १५ दिनभित्रमा विद्युत बढी माग हुने पिक समयमा चलाउने गरि मर्मत सम्भार सम्पन्न गर्ने तालिका तय गरेको छ । दुईवटा डिस्याण्डरमध्य बाँयातर्फको मर्मतसम्भार आगामी पुस १० गते भित्र सम्पन्न गरी विद्युत उत्पादन गर्ने तालिका तय गरिएको हो ।

मर्मत सम्भारमा गम्भीर भएर लाग्न आग्रह

कार्यकारी निर्देशक घिसिङले माथिल्लो तामाकोशीबाट तोकिएको समयमा विद्युत उत्पादन गर्न नसकिएमा देशभित्रको मागबमोजिम विद्युत आपुर्ति गर्न नसकिने भन्दै मर्मत सम्भारमा गम्भीर र संवेदनशील भएर लाग्न आग्रह गर्नुभएको छ ।

लगातारको वर्षाका कारण नदीमा पानीको वहाव उच्च भएपछि असोज ११ गते साँझबाटै माथिल्लो तामकोशीको विद्युत उत्पादन बन्द गरिएको थियो । अविरल वर्षासँगै आएको बाढी पहिरोले माथिल्लो तामाकोसीको हेडवक्र्स, कन्ट्रोल रुम, डिस्याण्डर र कल्भर्टमा ठुलो क्षति पुगेको थियो ।

वर्षाबाट क्षतिग्रस्त विद्युत प्रवाह गर्ने प्रशारण लाईनको एउटा टावरको ममर्त सम्भार सम्पन्न भएको जलविद्युत केन्द्रले जनाएको छ ।