निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनमा उम्मेदवारले गर्न पाउने खर्चको सीमा तोकेको छ। आयोगले एक सूचना जारी गर्दै उम्मेदवारले ३ लाख ५० हजारसम्म मात्रै खर्च गर्न पाउने गरी सीमा तोकेको हो।
आयोगले उम्मेदवारले गर्न पाउने खर्चलाई वर्गीकरणसमेत गरेको छ। उम्मेदवारले मतदाता नामावली खरिदमा एक हजार, सवारी साधनमा सत्तरी हजार र सवारी इन्धनमा १० हजारसम्म मात्रै खर्च गर्न पाउने सूचनामा उल्लेख छ।
यस्तै प्रचार प्रसार सामग्री १४ हजार ५ सय, ढुवानी १० हजार गोष्ठी/अन्तरक्रिया एक लाख, अन्य प्रचार÷प्रसार, छापा एवं विद्युतीय माध्यम १४ हजार ५ सय कार्यालय सञ्चालन ७० हजार, प्रतिनिधि परिचालन ३० हजार खर्च गर्न पाउने आयोगले जनाएको छ।
माघ १२ गते हुने राष्ट्रिय सभाको १९ सदस्यका लागि निर्वाचन हुँदै छ। मंगलबार उम्मेदवारको मनोनयन भएसँगै आयोगले खर्चको सीमा तोकेको हो। १९ सिटका लागि ९ राजनीतिक दलका ४३ जनाले लागि उम्मेदवारी दिएका छन्।