images
images

बालुवाटार जग्गा काण्डका ‘ठूला माछा’ समात्न बाटो खुल्यो !

  • २१ पुष २०७८, बुधबार ११:४९

बालुवाटारस्थित ललिता निवासको जग्गा किर्ते प्रकरणमा मुछिएका नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री विजय गच्छदार र अख्तियारका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातलाई पक्राउ गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआइबी) लाई बाटो खुला भएको छ ।

ललिता निवासको जग्गा किर्ते प्रकरणबारे अनुसन्धान गरिरहेको सीआइबीलाई यस प्रकरणमा मुछिएका गच्छदार र बस्न्यातलगायतलाई पक्राउ गर्न जिल्ला अदालत काठमाडौंले पुर्जी दिएको छ । गच्छदार र बस्न्यातसँगै ३ सय बढीलाई पक्राउ गर्न अदालतले अनुमति दिएको बताइएको छ । पक्राउ पुर्जीमा तत्कालीन मन्त्री र सचिवहरु समेत रहेको बताइएको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणको अनुसन्धान अन्तिम चरणमा पुगेको जनाएको छ । तर, यस अवधिमा प्रहरीले जम्मा ३ जना आरोपितहरुलाई मात्र पक्राउ गरेको छ । पक्राउ पर्नेमा शोभाकान्त ढकाल, मालपोतका लेखनदास रामकुमार सुवेदी र उनकी श्रीमती माधवी छन् ।

तत्कालीन भूमिसुधार तथा व्यवस्था मन्त्री चन्द्रदेव जोशी र डम्बर श्रेष्ठ विरुद्ध पनि मुद्दा दायर भएको छ । प्रतिवादी बनाइएका पूर्वसचिव छविराज पन्त पनि मन्त्री भइसकेका व्यक्ति हुन् । तत्कालीन सचिव दिनेशहरि अधिकारीलाई पनि प्रतिवादी बनाइएको छ ।

सहसचिवहरू मुकुन्द्रप्रसाद आचार्य, रुद्रकुमार श्रेष्ठ, जीतबहादुर थापा, अशोकनाथ उप्रेती र तेजराज पाण्डेसहित तीन प्रमुख मालपोत अधिकृत, पाँच मालपोत अधिकृत र आठ शाखा अधिकृत तथा नायब सुब्बा, खरिदार र अमिनहरू गरी ६० जना विरुद्ध मुद्दा दर्ता गरिएको थियो ।

जग्गाधनी र मोही भनिएका ५० जनालाई पनि प्रतिवादी बनाइएको छ । यसबाहेक अतिक्रमण गरेर बसेका ६५ जनालाई जग्गा जफतका लागि प्रतिवादी बनाइएको छ । सरकारी जग्गा व्यक्तिका नाममा ल्याउन मुख्य भूमिका खेल्ने शोभाकान्त ढकाल, रामकुमार सुवेदी र भाटभटेनी सुपर मार्केटका संचालक मीनबहादुर गुरुङलाई पनि मुख्य प्रतिवादी बनाइएको छ ।