एमाले अध्यक्ष केपी ओलीले मिर्गौला प्रत्यारोपण गरेकाले आफ्नो इम्युन सिस्टम शून्य भएको बताएका छन्। तर यस्तो अवस्थामा पनि आफ्नो प्रतिरोधी क्षमता देखेर आश्चर्यमा परेको उनको भनाइ छ।
संस्कृति बचाउ अभियानले बुधबार ओलीको भक्तपुरकाे बालकोटस्थित निवास पुगेर अध्यक्ष ओलीसँग भेट गरेको थियो। कलाकारहरूसँग कुराकानी गर्दै ओलीले परम्परागत ज्ञानका आधारमा आफू अहिलेसम्म संक्रमणबाट बचेको बताए। ‘मिर्गौला प्रत्यारोपण गरेकाले मेरो इम्युन सिस्टम शून्य छ। औषधि खाइरहनु पर्छ, जसकारण मेरो प्रतिरोधी क्षमता जीरो छ। हजारौंको बीचमा छु। दिनहुँ भेट भइरहन्छ। माला लगाउँछन्। फोटो खिच्छन्। तर पनि अहिलेसम्म संक्रमित भइएको छैन। यो परम्परागत ज्ञानकै कारण हो’, ओलीको भनाइ उद्धृत गर्दै एक कलाकारले भने।
उनले पछिल्लो समय आफूमा पनि स्मरण शक्ति कमजोर हुँदै गएको बताएका थिए। ‘पहिले पहिले पाँच सयभन्दा बढी टेलिफोन सम्झन्थे । अहिले श्रीमतीको मोबाइल नम्बरसमेत कति हो सोध्नुपर्छ’, उनले भने। अभियानमा कलाकार मोहन निरौला, रवीन्द्र खड्का, उत्तम केसी, घनश्याम खतिवडालगायत सहभागी थिए।