images
images

सिन्धुलीमा दुई घटनाः बलात्कारी थुनामा, कमला खोलामा शव फेला

  • २० पुष २०८०, शुक्रबार २०:०२

सिन्धुली । सिन्धुलीमा नाबालिकालाई जवरजस्तीकरणी गर्ने एक किशोरलाई पुर्पक्षका लागि कारागार पठाइएको छ ।

दुधौली नगरपालिका–१० की ५ वर्षीया बालिकालाई जबरजस्तीकरणी गरेको आरोपमा सोही स्थानका १८ वर्षीय तारा गौरुङलाई पुर्पक्षका लागि कारागार पठाइएको हो । उनले गत मंसिर २६ गते ती बालिकालाई ललाई फकाई गरी आफ्नो घरको कोठामा लगि जबरजस्तीकरणी गरेका थिए । जबरजस्तीकरणीपछि ती बालिकाले सिन्धुली प्रहरीको जाहेरी दरखास्त दिएकी थिइन् । सोही जाहेरीको आधारमा उनलाई पक्राउ गरी आज पुर्पक्षका लागि जिल्ला कारागार सिन्धुली पठाइएको सिन्धुलीका प्रहरी प्रवक्ता, प्रहरी नायव उपरीक्षक(डिएसपी)चिरन्जीवी दाहालले जानकारी दिनुभयो ।

यसैबीच, सिन्धुलीमा कमला खोला किनारमा डुबेको अवस्थामा एक पुरुषको शव फेला परेको छ । दुधौली नगरपालिका–१ गिजिहानीका ५३ वर्षीय भिमनाथ अधिकारीको दुधौली नगरपालिका–६ लालभितीस्थित कमला खोला किनारमा शव फेला परेको हो । खोलामा माछा मार्न जाने मानिसहरुले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । उनको शव पानीभित्र घोप्टो परेको अवस्थामा कमलाखोलामा फेला परेको डिएसपी दाहालले बताउनुभयोे । उहाँका अनुसार मानसिक सन्तुलन पनि ठीक नभएका उनी हिजो कसैलाई नसोधी घरबाट निस्किएका थिए ।