
काठमाडौँ । प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफु नेतृत्वको सरकारका केही कामहरु सकारात्मक भए पनि पर्याप्त नभएको बताउनुभएको छ ।
पार्टी केन्द्रीय कमिटि बैठकमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा अध्यक्ष ओलीले सरकारका कामहरुबारे चर्चा गर्दै सकारात्मक भएपनि पर्याप्त नभएको बताउनुभएको हो । दुई मुख्य दलको साझेदारी र अन्य दलहरु समेतको सहभागितामा बनेको शक्तिशाली सरकारबाट जनताले अझ तीव्र विकास, परिवर्तन र डेलिभरीको अपेक्षा गरिरहेको उहाँको भनाई छ ।
नेकपा एमालेको केन्द्रीय समिति बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पेस गरेको राजनीतिक प्रतिवेदनमाथि छलफल सुरु भएको छ । जारी बैठकमा प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले ४७ पृष्ठ लामो प्रतिवेदन पेस गर्नुभएको थियो । प्रतिवेदनमा पछिल्लो समसामयिक राजनीति, सरकार गठन भएपछिको ६ महिने समीक्षा, सरकार सञ्चालन, अर्थतन्त्र लगाएतका विषय उल्लेख गरिएको छ । प्रतिवेदनमा अध्यक्ष ओलीले कांग्रेससँग थालिएको नयाँ राजनीतिक कोर्सको समीक्षा गर्नुभएको छ ।
नेकपा एमालेले उपनिर्वाचनको नतिजाले शहरी क्षेत्रमा पार्टीले अझै मेहनत गर्नुपर्ने शिक्षा दिएको निश्कर्ष निकालेको छ । जारी केन्द्रीय कमिटि बैठकमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा उपनिर्वाचनमा एमालेले अपेक्षित मत ल्याउन नसकेको उल्लेख गरिएको छ । कीर्तिपुर जस्तो ठाउँमा अपेक्षित परिणाम हाँसिल नहुनु र सहरीया जनमत अपेक्षित आकर्षण बढ्न नसक्नुलाई गम्भीरतापूर्वक लिईएको प्रतिवेदनमा उल्लेख छ ।
यद्धपी उपनिर्वाचनको नतिजाबाट भविष्यको निर्वाचनको पूर्वानुमान गर्न नसकिने एमालेको ठहर छ ।