
काठमाडौँ । नेकपा माओवादी केन्द्रले नेता कार्यकर्ताहरुलाई उत्पादनसँग जोड्दै उनीहरुको आम्दानी समेत पारदर्शी गर्ने नीति लिने भएको छ ।
पार्टीको आजदेखि सुरु भएको छैटौँ केन्द्रीय कमिटि बैठकमा अध्यक्ष प्रचण्डले पेस गरेको राजनीतिक प्रतिवेदनमा पार्टी नेता कार्यकर्ताको आम्दानी र आम्दानीको स्रोतबारे व्यवस्थित र सैद्धान्तिक गरिने उल्लेख छ । उहाँले कार्यकर्ता उत्पादनसँग जोडिनुपर्ने भन्दै आम्दानी र व्यवसाय पनि पारदर्शी हुनुपर्नेमा जोड दिनुभयो ।
यस्तै प्रतिवेदनमा सरकारलाई हेर्ने दृष्टिकोणका बारेमा पनि उल्लेख छ । अध्यक्ष प्रचण्डले जनतासँग जोडिने अभियानलाई महत्व दिँदै महाधिवेशनमा जाँदा भ्रष्टाचार लगाएतका काण्डमा पार्टीले लिएका पहलकदमीलाई जनताको तहसम्म पु¥याउने बताउनुभयो । बैठकमा अध्यक्ष प्रचण्डले जनतामा जाने अभियान अन्र्तगत पहिलो चरणमा हुलाकी राजमार्ग केन्द्रित तराई मधेशको अभियान चलाउने र त्यसपछि मध्यपहाडी राजमार्गमा अभियान सञ्चालन गर्ने प्रस्ताव राख्नु भएको छ । सरकारमा रहँदा सुशासनको पक्षमा सकरात्मक पहल गर्न खोजेकाले अहिले आफुहरुको पक्षमा सकरात्मक वातावरण बनेको उहाँको भनाई छ ।
फागुन १ भित्र सम्पत्ति विवरण बुझाउनुपर्ने
बैठकमा राजनीतिक प्रतिवेदन पेश गर्दै अध्यक्ष प्रचण्डले आगामी फागुन १ भित्र सबै केन्द्रीय सदस्यले सम्पत्ति विवरण बुुझाउनुपर्ने प्रस्ताव गर्नुभएको छ । सबै केन्द्रीय सदस्यहरुले आफु र परिवारको सम्पत्ति विवरण बुझाउनुपर्ने र जीवन निर्वाहको स्रोत खुलाउनुपर्ने उहाँको प्रस्ताव छ । यसअघि माओवादी केन्द्र भूमीगत हुँदा सबै केन्द्रीय नेताहरुले पार्टीमा सम्पत्ति विवरण बुझाउनु पर्ने प्रचलन रहेपनि शान्ति प्रक्रियामा आएसँगै तोडिएको थियो । माओवादीमा ४०९ पूर्ण केन्द्रीय सदस्य र २०५ वैकल्पिक सदस्य रहेका छन् ।
बैठकमा अध्यक्ष प्रचण्डले केन्द्रीय कमिटिको आकार विशाल भएको भन्दै विशाल कमिटि पार्टीका लागि अवसर र चुनौती दुवै भएको टिप्पणी गर्नुभएको छ ।
उच्चस्तरीय कार्यदल गठन
नेकपा माओवादी केन्द्रले अन्य पार्टीहरुसँग एकताका लागि वार्ता गर्न उच्चस्तरीय कार्यदल गठन गर्ने भएको छ । केन्द्रीय समितिको छैटौँ पूर्ण बैठकमा राजनीतिक प्रतिवेदन पेस गर्दै अध्यक्ष प्रचण्डले यस्तो प्रस्ताव गर्नु भएको हो । माओवादीले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा, नेपाल समाजवादी पार्टी लगायतसँग एकताको छलफल चलाइरहेको छ । एकीकृत समाजवादी, र विप्लव नेतृत्वको नेकपासँगै नेपाल समाजवादी पार्टी, नेकपा बहुमत, मोहन बैद्य, प्रभु साहलगायतका पार्टीहरुसँग एकताको पहल गर्ने अध्यक्ष प्रचण्डको प्रस्ताव छ ।
नेकपा माओवादी केन्द्रले आगामी निर्वाचनमा कांग्रेस र एमाले जस्ता पार्टीसँग मिलेर चुनाव नलड्ने निर्णय पनि गरेको छ । केन्द्रीय समितिको आजको बैठकमा अध्यक्ष प्रचण्डले पेश गरेको प्रस्तावबारे जानकारी दिँदै उपाध्यक्ष तथा प्रवक्ता अग्रिप्रसाद सापकोटाले गठबन्धन नगरी एक्लै निर्वाचन लड्ने बताउनुभयो ।
माओवादी केन्द्रको केन्द्रीय समिति बैठक भोली बिहान ११ बजे पुनः बस्नेगरि स्थगित भएको छ ।