images
images

जिरी भ्रमण वर्ष २०२५ को भव्य समापनःपर्यटन पुनरुत्थानका लागि नयाँ संकल्प

जिरी । दोलखाको प्रसिद्ध पर्यटकीय गन्तव्य जिरीमा सञ्चालित’ जिरी भ्रमण वर्ष सन् २०२५’ एक विशेष समारोहका बीच भव्य रूपमा समापन गरिएको छ।

हाँडादेखि सुरु भएको ¥यालीमा विभिन्न जातजातिका सांस्कृतिक झाँकी, स्थानीय संघसंस्था र विद्यालयहरूको सहभागिताले जिरी बजार उत्सवमय बनेको थियो । गत फागुन ३ गतेदेखि सुरु भएको यस अभियानले जिरीको पर्यटनलाई पुनर्जीवित गर्ने लक्ष्य राखेको थियो ।

समापन समारोहका प्रमुख अतिथि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. प्रकाशकुमार श्रेष्ठले जिरीको भौतिक विकास र लोकमार्गको विस्तार भएपनि पर्यटकीय चहलपहलमा अझै सुधारको खाँचो रहेको औंल्याउनु भयो । यद्यपि, जिरीले आफ्नो मौलिकता जोगाउँदै शहरका रूपमाविकास हुनु र पर्यटक आकर्षणका लागि भ्रमण वर्ष जस्ता कार्यक्रम आयोजना गर्नु प्रशंसनीय रहेको उहाँको भनाइ थियो ।

सोहीअवसरमा नेकपा एमाले दोलखाका अध्यक्ष नरबहादुर श्रेष्ठले जिरीको विकासले समग्र जिल्लाकै अर्थतन्त्रलाई टेवा पुग्ने बताउनु भयो । उनले स्वीस सरकारको सहयोगमा निर्मित लामोसाँघु–जिरी सडकले जिरी विकासमा कायपलट गरेको स्मरण गर्दै अब जिरी तालको प्रवद्र्धन, प्राविधिक शिक्षालयको स्तरउन्नति र अस्पतालको सुदृढीकरणमा राज्यले लगानी बढाउनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रमका सभापति एवं जिरी नगरपालिकाका प्रमुख मित्रबहादुर जिरेलले नेपालको स्वीट्जरल्याण्ड र सगरमाथाको प्रवेशद्वारका रूपमा चिनिने जिरीको आर्थिक गतिविधिमा आएको सुस्तता प्रति चिन्ता व्यक्त गर्नुभयो । भ्रमण वर्षको औपचारिक समापन भएपनि जिरीलाई विश्वसामु चिनाउने अभियान निरन्तर रहने बताउँदै उहाँले जिरीको स्वच्छ हावापानी, अर्गानिक खानपान, पहाड र मनमोहक दृश्य अवलोकनका लागि आन्तरिक तथा बाह्य पर्यटकलाई सधैं स्वागत रहने बताउनुभयो ।

उपप्रमुख कृष्णमाया बुढाथोकी खड्काले जिरी भ्रमण वर्ष २०२५ सफल भएको र पर्यटन क्षेत्रमा केही हदसम्म भएपनि टेवा पुगेको बताउनु भयो । कार्यक्रममा नेपालीकांग्रेस दोलखाका नेता तारा बहादुर कोइराला, भिमेश्वर नगरपालिकाकी उपप्रमुख कमला बस्नेत र जिरी नगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत राजकुमारी खत्रीलगायतले जिरीको पर्यटकीय सम्भावनाका बारेमा आ–आफ्नो धारणा राख्नुभएको थियो ।