images
images

प्युठान जिप दुर्घटनाः मृतकको संख्या ८ पुग्यो, सातजनाको सनाखत

  • २२ माघ २०७८, शनिबार ०८:४६

काठमाडौं । प्युठानमा जिप दुर्घटना परी मृत्यु हुनेको संख्या ८ पुगेको छ ।

गौमुखी गाउँपालिकामा बेहुली लिएर फर्किँदै गरेको जिप दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै र दुई जनाको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । दुर्घटनामा परी मृत्यु भएका ८ जनामध्ये ७ जनाको सनाखत भएको छ । मृत्यु हुनेमा गौमुखी गाउँपालिका वडा नम्बर ६ का एकै घरका श्रीमान बसन्त खड्का, श्रीमती बसन्ता खड्का, छोरी एलिशा खड्का रहेका छन् । यस्तै सोही स्थानकी केशरी खड्का, नन्दी खड्का, खिम खत्री, बले बुढामगर रहेका छन् । मृतक एक जनाको भने पहिचान नखुलेको प्युठानका प्रहरी नायव उपरिक्षक (डिएसपी) सत्यनारायण थापाले जानकारी दिनुभयो ।

गौमुखी गाउँपालिकस्थित ओखरटारमा बेहुली लिएर फर्किँदै गरेको ग १ ज ५०९२ नम्बरको जिप आज विहान दुर्घटनामा परेको हो । जिप नौबहिनी गाउँपालिकाको लुङबाट बेहुली लिएर गौमुखी गाउँपालिकाको लिवाङ फर्किँदै गर्दा दुर्घटनामा परेको प्रहरीले जनाएको छ । दुर्घटनामा परी  घाईते भएकाहरुलाई घटनास्थलबाट उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल बिजुवार लगिएको डिएसपी थापाले बताउनुभयो ।