images
images

संघीय संसदको हिउँदे अधिवेसन आजबाट सुरु हुने

  • २२ माघ २०८०, सोमबार ०६:२३

काठमाडौं । संघीय संसदको हिउँदे अधिवेसन आजदेखि सुरु हुने भएको छ ।

संघीय संसद सचिवालयका अनुसार प्रतिनिधिसभा र राष्ट्रियसभाको तेस्रो अधिवेसन आजदेखि सुरु हुने भएको हो । सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आज अपरान्ह ४ बजे संघीय संसदको बैठक आवहान गर्नुहुने भएको छ । हिउँदे अधिवेसन सञ्चालनका लागि गर्नुपर्ने प्राविधिक तथा भौतिक पूर्वाधार व्यवस्थापनको पूर्ण तयारी पूरा भएको छ । संसद सचिवालयले यो पटकदेखि कानुन निर्माणका हिसाबले प्रभावकारी र चुस्त बनाउन पाक्षिक रुपमा क्यालेन्डर बनाएर अधिवेसन सञ्चालन गर्ने तयारी गरेको छ । प्रत्येक १५–१५ दिनमा कार्यतालिका बनाउने र त्यसका आधारमा बैठक सञ्चालन हुने भएको हो । सभामुख देवराज घिमिरेले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आवहानसम्बन्धी पत्र पढेर सुनाउनुहुने भएको छ ।

राष्ट्रियसभामा उत्पति भएको विद्युतीय व्यापार विद्येयक २०८० र राष्ट्रिय मर्यादा सम्बन्धी विद्येयक २०७९ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विद्येयक टेबुल गर्ने, अर्थमन्त्री डा.प्रकाशशरण महतले आर्थिक कार्यविधि तथा वित्तीय पहिलो संशोधन अध्यादेश २०८० पेश गर्ने कार्यसूची रहेको संसद सचिवालयका कार्यवाहक महासचिव पदमप्रसाद पाण्डेले जानकारी दिनुभयो । यस्तै कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले सरकार, मन्त्रीपरिषदको निर्णयबाट जारी भएको बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा ४२ बमोजिमको बाधा अड्काउ फुकाउ आदेश सदन समक्ष पेश गर्नु कार्यसूची तय भएको छ ।

विद्येयक अधिवेसनका रुपमा रहने हिउँदे अधिवेसनका लागि संघीय संसदमा २४ वटा विद्येयक रहेका छन् । तीमध्ये १६ वटा विषयगत समितिमा रहेको छ भने १५ वटा विद्येयकमाथि छलफल भइरहेको छ । जनताको सार्वभौमसत्ताको प्रयोग हुने सबैभन्दा माथिल्लो सभाका रुपमा रहने संघीय संसदकाो वर्षे र हिउँदे अधिवेसनबीच ६ महिनाभन्दा बढी समय खाली हुन नहुने संवैधानिक व्यवस्था रहेको छ । संघीय संसदको दोस्रो अधिवेसन गत कात्तिक १६ गते अन्त्य भएको थियो ।