images
images

जिरीको पटासे वृद्ध हत्या प्रकरणः एक जना पुर्पक्षका लागि थुनामा, दुई धरौटीमा रिहा

  • २३ माघ २०८१, बुधबार १४:१७

दोलखा । दोलखाको जिरी नगरपालिकाको पटासेमा एक बृद्धको हत्या अभियोगमा पक्राउ परेका तीनजनामध्ये एकजना पुर्पक्षका लागि थुनामा गएका छन् भने दुई जना धरौटीमा छुटेका छन् ।

जिल्ला न्यायधीश माधबप्रसाद सुवेदीको ईजलासमा भएको थुनछेकको बहसमा जिरी नगरपालिका २ स्थित पटासेका ६१ वर्षीय होम्बा तामाङको हत्या अभियोगमा सोही स्थानका ६६ वर्षीय धनबहादुर तामाङ पुर्पक्षका लागि थुनामा गएका हुन् । यस्तै, धनबहादुरकी श्रीमती गंगामाया तामाङ र वडा नम्वर ४ का ५२ वर्षिय शान्ता जिरेल भने २५/२५ हजार रुपैयाँ धरौटीमा छुटेको जिल्ला अदालत दोलखाका श्रेष्तेदार अञ्जन भट्टराईले जानकारी दिनुभयो ।

सरकारी वकिल कार्यालयले अनुसन्धान पुरा गरी तीनैजनालाई हिजो अदालतमा अभियोग पत्र पेश गरेको थियो । जसअनुसार धनबहादुरलाई मुलुकी अपराध संहिता ऐन २०७४ को दफा १७९ को उपदफा १ को खण्ड क बमोजिम सजाय माग दाबी गरिएको थियो । यस्तै, गंगामाया र शान्तालाई भने मुलुकी अपराध संहिता ऐन २०७४ को दफा ३६ को उपदफा १ बमोजिम सजाय माग सहितको अभियोग पत्र पेश गरिएको जिल्ला अदालत दोलखाले जनाएको छ ।

सरकारी वकिल कार्यालयले धनबहादुरले आवेशमा आई लौरो प्रहार गरेको र गंगामाया र शान्ताले हत्यामा मतियारको रुपमा काम गरेको भनि अभियोग पत्र पेश गरेको हो । होम्बा तमाङ पौष २८ गते आफ्नै घरमा मृत फेला परेका थिए । उनको २६ गते नै हत्या भएपनि २८ गते मात्रै शव फेला परेको थियो ।

मृतक तामाङको उच्च रक्तचापका कारण मृत्यु भएको भन्दै दाहसंस्कारको तयारी गरिएका बेला जेठा छोराले हत्याको आशंकामा जाहेरी दिएपछि प्रहरीले शव नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको थियो । तामाङको चिर्पटले हानेर हत्या गरिएको अनुसन्धानका क्रममा खुलेको हो । त्यसलगत्तै प्रहरीले हत्यामा संलग्न देखिएको भन्दै २९ गते तीनै जनालाई पक्राउ गरी अनुसन्धान सुरु गरेको थियो ।