
काठमाडौँ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलाई आक्रमण गरेको आरोपमा पक्राउ परेका दोलखाका एक सहित ३ जनालाई ज्यान मार्ने उद्योगको कसुरमा मुद्धा दर्ता भएको छ ।
जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले दोलखाको तामाकोशी गाउँपालिका–१ का ४८ वर्षीय ललितकुमार केसी सहित तीन जनाविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्धा दर्ता गरेको हो । प्रहरी वृत्त सिंहदरबारको अनुसन्धान प्रतिवेदनको आधारमा केसी सहित हुम्लाका ३२ वर्षीय महानन्द जैसी र झापाको बुद्धशान्ती गाउँपालिकाकी ५५ वर्षीया सितल राई भनिने सीतादेवी राईविरुद्ध मुद्धा दायर भएको छ ।
मुलुकी फौजदारी अपराध संहिताको दफा १८३ मा ज्यान मार्ने उद्योगको कसुर गर्न नहुने उल्लेख छ । सो कसुर गरेमा १० वर्षसम्म कैद र १ लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ ।
प्रतिवादीमध्य जैसी रास्वपा जुम्लाको उपसभापति रहेको खुलेको छ भने केसीले आफु सहकारी पीडित भएको बताएका छन् । दोलखाको भीरकोट घर भएका केसीले मेरो ग्रेट गंगासागर सहकारीमा आफुले जम्मा गरेको २१ लाख रुपैयाँ बचत फिर्ता नभएकाले आक्रोशित भएको प्रहरी समक्ष वयान दिएका छन् ।
अधिवक्ता त्रिपाठीमाथि माघ २ गते रवि लामछिानेको मुद्धामा थुनछेक बहस सकेर निस्किने क्रममा अदालत परिसरमै आक्रमणको प्रयास भएको थियो ।