
जिरी(दोलखा) । दोलखाको मेलुङ गाउँपालिकामा रहेको दुई मुख्य सडकलाई पक्की सडकमा परिमार्जन गर्दै लैजाने क्रम सुरु भएको छ ।
मेलुङ गाउँपालिकाको दुई ‘लाइफलाइन’ सडकको रुपमा रहेको नयाँपुल–पवटी–डाँडाखर्क सडक र शित्तली–मेलुङ–बुद्धचोक–भैँसे सडकलाई पक्की सडकमा परिमार्जन गर्नेगरी काम थालिएको हो ।
पालिकासँग जोडिएको १९ किलोमिटरको नयाँपुल–पवटी–डाँडाखर्क सडकको करिब साँढे १० किलोमिटर कालोपत्रे भइसकेको छ ।
सो सडक अन्तर्गतको सिम्टे–लप्सी–फेदी खण्डकोे कालोपत्रे यसअघि नै सम्पन्न भएको हो । केहीवर्ष अघि मात्रै संघीय सरकार र एडिवीको २८ करोड बजेटबाट उक्त सडक कालोपत्रे भएको थियो ।
सो सडकको बाँकी खण्डमा कालोपत्रे गर्न बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गत १७ करोड ९१ लाखको ठेक्का भएर अँधेरी खोला क्षेत्रमा धमाधम काम भैरहेको छ । उक्त बजेटबाट नयाँपुल—पवटी खण्डको करिब ७ किलोमिटर सडक कालोपत्रे हुनेछ । स्तरउन्नतिसँगै कालोपत्रे गरिने सडकको चौडाई साढे ५ फिट हुनेछ भने त्यसैमा नाला निर्माण हुनेछ । गत चैत २० गते सम्झौता भएको सो सडकको केही समय अघिदेखि काम सुरु भएको हो ।
यस्तै, मेलुङ गाउँपालिकाको ‘लाइफलाइन’ सडकको रुपमा पहिचान गरिएको अर्काे सडक मुडे–मेलुङ–सितली सडकको भैंसे–बुद्धचोक खण्ड स्तरउन्नतिसँगै कालोपत्रेको लागि बजेट शुनिश्चित भएको छ ।
भैंसे–बुद्ध चोक खण्डको लागि बागमती प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयबाट १६ करोड श्रोत सुनिश्चित भएको मेलुङ गाउँपालिकाका अध्यक्ष हिरा कुमार तामाङले जानकारी दिनुभयो ।
मेलुङ गाउँपालिकाको दुई ‘लाइफलाइन’ सडकको रुपमा रहेको नयाँपुल–पवटी–डाँडाखर्क सडक र शित्तली–मेलुङ–बुद्धचोक–भैँसे सडकलाई पक्की सडकमा परिमार्जन गर्नेगरी काम थालिएको हो ।
पालिकासँग जोडिएको १९ किलोमिटरको नयाँपुल–पवटी–डाँडाखर्क सडकको करिब साँढे १० किलोमिटर कालोपत्रे भइसकेको छ ।
सो बजेटबाट सडकको स्तरउन्नतिसँगै साँढे ३ किलोमिटर कालोपत्रे हुने उहाँको भनाई छ । दुई वर्षभित्र निर्माण सम्पन्न गरिसक्नुपर्ने सडक चालु आर्थिक वर्षभित्रै ठेक्का प्रकृयामा जानेछ । उक्त सडकको १८ किलोमिटर सडक डिपिआर भएको मेलुङ गाउँपालिकाले जनाएको छ ।
यसैगरी, शित्तली–मेलुङ–बुद्धचोक–भैँसे सडक अन्तर्गत नै वडा नम्बर ७ को जोरपिपलदेखि मेलुङ हुँदै फड्केसम्म स्तरोन्नतिको काम अन्तिम चरणमा पुगेको छ । बागमती प्रदेश सरकारको १४ करोड बढी बजेटमा उक्त क्षेत्रमा स्तरउन्नतिको काम भैरहेको हो । ठेकेदार कम्पनीसँग २०७७ साल असार १८ गते नै सम्झौता भएपनि सडक निर्माणमा ढिलाई भएपछि हस्तान्तरण हुन बाँकी छ ।
हाल उक्त सडकको अन्तिम चरणको निर्माण कार्य भैरहेको ठेकेदार निर्माण कम्पनी विरुवा वाइवा एण्ड लामा जेभीले जनाएको छ । वडा नम्बर ७ को जोरपिपलदेखि फड्केसम्म करिब साँढे ८ किलोमिटर सडकको स्तरोन्नति भएको छ । पछिल्लो वर्ष पनिसितली—मेलुङमाने—बुद्धचोक सडकको लागि थप एक करोड बढी बजेट परेको छ ।
मेलुङ गाउँपालिकाभित्र अन्य थुप्रै भित्रि सडकहरु निर्माण भइरहेको भएपनि यी दुई सडक पालिकालाई जिल्ला सदरमुकाम र राजधानी काठमाडौं जाने मार्गसँग जोड्ने मुख्य सडक हो । हिउँद र वर्षायाममा समेत निर्वाध रुपमा सवारी साधन सञ्चालनमा नहुँदा सास्ती खेप्दै आएका मेलुङका नागरिकहरुलाई नयाँपुल–पवटी–डाँडाखर्क सडक र शित्तली–मेलुङ–बुद्धचोक–भैँसे सडक दिगो रुपमा निर्माण भएपछि धेरै हदसम्म सहज हुनेछ ।
विगतमा पक्की सडक सञ्जालबाट टाढा र विकट क्षेत्रको रुपमा रहेको मेलुङ गाउँपालिकामा विस्तारै पक्की सडकबाटो विस्तार हुँदै गएको छ ।