images
images

गैरीमुदीमा कांग्रेस र एमालेमा पहिरो, माओवादी केन्द्र प्रवेश गर्नेको लहर

  • २१ फाल्गुन २०७८, शनिबार १४:१३

वैतेस्वर (दोलखा) । दोलखाको वैतेस्वर गाउँपालिकामा नेकपा माओवादी केन्द्रमा प्रवेश गर्ने लहर चलेको छ ।
स्थानीय तहको निर्वाचन नजिकिँदै गरेका बेला वैतेस्वर गाउँपालिकामा बिभिन्न पार्टी परित्याग गरी माओवादी पार्टीमा प्रवेश गर्ने लहर चलेको हो ।

खासगरी वैतेस्वर गाउँपालिकाको वडा नम्बर २ गैरीमुदीमा माओवादी केन्द्र प्रवेश गर्नेहरुको लहर चलेको छ । विगतमा नेपाली कांग्रेस र नेकपा एमालेमा सक्रिय भूमिकामा रहेका युवाहरु धमाधम माओवादी केन्द्रमा प्रवेश गर्न थालेका हुन् । वैतेस्वर २ को माझगाउँ, सानिटार तथा गैरीमुदीको पुतलीकाठ, मुलावारी टार, योन्जन टोल, थापा गाउँ लगायतका गाउँवाट शुक्रवार पनि ठूलो संख्यामा युवा र महिलाहरु माओवादी केन्द्रमा प्रवेश गरेका छन् । यसअघि पनि सो क्षेत्रवाट दुई चरणमा गरी ७० भन्दा बढी मानिस अन्य पार्टी परित्याग गर्दै माओवादी केन्द्रमा प्रवेश गरेका थिए ।

माझगाउँमा मन्त्रीको बास

युवासहितको ठूलो समूह माओवादी केन्द्रमा प्रवेश गर्ने भएपछि नेकपा माओवादी केन्द्रका युवा नेता एवँ बागमती प्रदेश सरकारका बन तथा वातावरण मन्त्री विशाल खड्का विहिवार राति नैं गैरीमुदी पुगेका थिए । विहिवार जिरी नगरपालिकामा आयोजित बिभिन्न कार्यक्रममा सहभागि भएर मन्त्री खड्का तथा नेकपा माओवादी केन्द्र दोलखाका संयोजक कुलवहादुर बुढाथोकी सहितका माओवादी नेताहरु सोही राति गैरीमुदी पुगेका थिए । उनीहरुले शुक्रवार विहान माझगाउँमा आयोजित पार्टी प्रवेश कार्यक्रममा ६० जना युवा तथा महिलाहरुलाई पार्टी प्रवेश गराएका हुन् ।

कांग्रेस र एमाले परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गर्नेहरुमा गैरीमुदीका मिलन घिसिङ, लासाङ तामाङ, टोपवहादुर तामाङ, पाल्देन घिसिङ, राजकुमार बस्नेत, राजेश बस्नेत, पार्वती तोलाङ्गी, सुनिता तोलाङ्गी, द्धिपा श्रेष्ठ सहित ६० जना रहेका छन् । माओवादी केन्द्र प्रवेश गरेका मिलन लगायतका युवाहरुले गत स्थानीय निर्वाचनमा कांग्रेसले मतदान केन्द्रमा आक्रमण गर्दा एमालेको तर्फवाट बुथ रक्षाकालागि शसक्त प्रतिकार गरेका थिए । सोही टिममा रहेर अग्रपंक्तिमा लडेका गंगा तामाङ लगायतका युवाहरु यसअघि नैं माओवादी केन्द्रमा प्रवेश गरिसकेका छन् ।

गैरीमुदीको विकासमा माओवादीको ध्यान

स्थानीय तहको अघिल्लो निर्वाचनमा गैरीमुदीको पुतलीकाठस्थित मतदान स्थल कांग्रेसले कव्जा गरेको थियो । कव्जा गर्ने क्रममा कांग्रेस र एमालेका कार्यकर्ता वीच झडप हुँदा केही घाईते समेत भएका थिए । अहिले तीनै युवाहरु धमाधम माओवादी केन्द्रमा प्रवेश गरिरहेका छन् । कांग्रेस र एमालेले निर्वाचनका बेला आफुहरुलाई प्रयोग गरेर अलपत्र छाडेको तथा स्थानीयस्तरमा विकास निर्माणका योजनाकालागि बजेट विनियोजन नगरेको उनीहरुको गुनासो छ । सो गुनासोपछि माओवादी केन्द्रले गैरीमुदीमा निकै फोकस गरेर विकास निर्माणका योजनाकालागि बजेट हालिरहेको छ । हालै मात्र प्रदेश सरकारवाट गैरीमुदीमा आधा दर्जन बढी योजनाहरु समेटिएका छन् ।

पार्टी प्रवेश कार्यक्रममा नेकपा माओवादी केन्द्रका युवा नेता समेत रहेका प्रदेश सरकारका वन तथा वातावरण मन्त्री विशाल खड्काले गैरीमुदीको विकास र स्थानीयवासीको सुरक्षाको जिम्मा सरकार र आफ्नो पार्टीको भएको भन्दै निर्धक्क भएर पार्टी गतिविधि संचालन गर्न आग्रह गर्नुभएको छ ।

यस्तो छ माओवादी रणनीति

वैतेस्वर २ माझगाउँ स्थायी घर भएका नेकपा माओवादी केन्द्र वैतेस्वरका युवा नेता भिमकुमार तामाङ एमालेले गरेको उपेक्षा र कांग्रेसको दवावका कारण गैरीमुदीमा पार्टी परित्याग गर्ने क्रम तिव्र भएको बताउनुहुन्छ । पछिल्लो समय माओवादी केन्द्रले गैरीमुदीलाई केन्द्रित गरेर आफ्ना गतिविधि अघि बढाईरहेको छ । गैरीमुदीमा माओवादी जनमत र आकर्षण राम्रो भएपनि उनीहरु माथि घेरावन्दी भएका कारण पार्टीले बिशेष ध्यान दिएर पार्टी संगठन निर्माण र जनतासँग जोडिएर विकास निर्माणका कामलाई अघि बढाउन लागिपरेको माओवादी केन्द्रका केन्द्रीय प्रचार विभाग सदस्य लक्ष्मण खड्काले जानकारी दिनुभयो । कांग्रेस, एमाले लगायतका दलवाट अन्यायमा परेका पार्टी नेता, कार्यकर्ता तथा युवाहरुलाई माओवादी केन्द्रमा समेट्ने र जिम्मेवारी दिएर अघि बढ्ने माओवादी केन्द्रले रणनीति बनाएको छ ।