images
images

धितोपत्र कारोवारका लागि खोलिएका १७ लाख ६३ हजार डिम्याट खाता बन्द हुँदै

  • २१ फाल्गुन २०७९, आईतवार ०७:५३

काठमाडौं । धितोपत्र कारोवारका लागि खोलिएका १७ लाख ६३ हजार हितग्राही डिम्याट खाता बन्द गरिने भएको छ ।

सिडिएस एन्ड क्लियरिङ लिमिटेड सिडिएसीका अनुसार हालसम्म खोलिएका ५५ लाख ७७ हजार भन्दा बढी हितग्राही खातामध्ये १७ लाख ६३ हजार भन्दा बढी निष्क्रिय भएका छन् । धितोपत्र कारोवारका लागि खोलिएका डिम्याट खातामध्ये ३२ प्रतिशत खाता निश्क्रिय रहेको पाइएको हो । सिडिएसीका प्रवक्ता सुरेस न्यौपानेले ती खातामा कुनै पनि कम्पनीको शेयर नरहेको र लामो समयदेखि खाता नविकरण समेत नभएको बताउनुभयो । उहाँका अनुसार एक जना व्यक्तिले दुई वटासम्म हितग्राही खाता खोल्न पाउने व्यवस्था छ । कुनैपनि लगानीकर्ताले दुई वटा हितग्राही खाता खोलेमा दुवै खाता सञ्चालनमा रहेको हुनुपर्नेछ ।

हाल निश्क्रिय रहेका ३२ प्रतिशत हितग्राही खाता २०७३ सालदेखि नै सञ्चालनमा नभएकाले खारेज गर्ने तयारी गरिएको हो । वार्षिक एक सय रुपैँया तिरेर नविकरण गर्नुपर्ने व्यवस्था अनुसार हाल निष्क्रिय रहेका खाता पुनः सञ्चालनका लागि नविकरण लागत पनि बढी हुने भएकाले ती खाताहरु बन्द गराउँदा नै प्रभावकारी हुने भएकाले बन्द गराउन लागिएको हो ।