images
images

दोलखा महोत्सवले जुराएको संयोग, जिल्लाका सांसद र जनप्रतिनिधि एउटै मञ्चमा

  • २१ फाल्गुन २०७९, आईतवार ०९:३४

दोलखा । दोलखाका नव निर्वाचित सांसदहरु पहिलो पटक एउटै मञ्चमा देखिएका छन् ।

गत मंसिरमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि शुक्रवार पहिलो पटक दोलखाबाट निर्वाचित सांसदहरुलाई एउटै मञ्चमा देखिएको हो । जिल्लाका सांसदहरुलाई एकै ठाउँमा भेला गर्ने संयोग दोलखा सदरमुकाम चरिकोटमा शुक्रवारबाट सुरु भएको दोलखा महोत्सवले जुराएको हो । महोत्सवको उद्घाटन कार्यक्रममा बहालवाला सांसद र पूर्वमन्त्रीहरु एउटै मञ्चमा देखिएका थिए । प्रतिनिधिसभाका सांसदद्धय गंगा कार्की र सोविता गौतम, प्रदेशसभाका सांसद भरत बहादुर केसी र मोनिका श्रेष्ठ एउटै मञ्चमा थिए । गत मंसिरमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा नेकपा माओवादी केन्द्रको तर्फबाट प्रतिनिधिसभामा कार्की, राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट गौतम निर्वाचित भएकी थिइन् । यस्तै बागमती प्रदेशसभामा नेकपा एमालेको तर्फबाट केसी र राप्रपाको तर्फबाट श्रेष्ठ समानुपातिकतर्फ निर्वाचित भएकी थिइन् । उनीहरु एउटै मञ्चमा देखिएको यो पहिलो पटक हो । दोलखाको तामाकोशी गाउँपालिका स्थायी घर भएकी संघीय सांसद गौतम काठमाडौंवाट निर्वाचित भएपनि गृहजिल्लाको कार्यक्रमलाई प्राथमिकता दिएर आएकी हुन् ।

यस्तै, पूर्वमन्त्रि आनन्दप्रसाद पोखरेल, वागमती प्रदेशका पूर्व वन तथा वातावरणमन्त्री विशाल खड्का पनि कायत्र्रmममा सहभागी भएका थिए । संघीय सरकारका पूर्वमन्त्री पार्वत गुरुङ र बागमती प्रदेशका वहालवाला सांसद कुन्दनराज काफ्ले भने महोत्सवको उद्घाटन कार्यक्रममा देखिएनन् । नेकपा एमालेले पूर्वमन्त्री पार्वत गुरुङलाई पार्टीले सञ्चालन गरेको ग्रास रुट अभियानका क्रममा हेटौंडा उपमहानगरमा खटाएका कारण गुरुङ कार्यक्रममा नदेखिएका हुन् । सत्ता गठबन्धनले राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेललाई जिताउने अभियान अन्र्तगत शुक्रवार काठमाडौंमा बागमती प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रम राखेकाले आफु दोलखा महोत्सवको उद्घाटन कायक्रममा सहभागी हुन नपाएको प्रदेशसभा सांसद काफ्लेले बताएका छन् । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको मुख्य सचेतक भएकाले काठमाडौंमा आयोजित कार्यक्रममा सहभागी हुनैपर्ने बाध्यताका कारण कार्यक्रममा आउन नपाएको काफ्लेको भनाई छ ।

चरिकोटको टुंडिखेलमा आयोजित महोत्सवमा दोलखाका ९ वटै स्थानीय तहका प्रमुख एवम् उपप्रमुुखको पनि उपस्थिति थियो । यसरी प्रतिनिधिसभा सांसद, प्रदेशसभा सांसद र स्थानीय तहका प्रमुख, उपप्रमुखलाई एउटै मञ्चमा भेटिने अवसर दोलखा महोत्सवले जुराएको हो । दोलखा चेम्बर अफ कमर्सको आयोजनामा शुक्रवारबाट सुरु भएको महोत्सव फागनु २७ गतेसम्म चल्नेछ । लामो समयदेखि थलिएको पर्यटन क्षेत्रलाई उकास्ने उद्धेश्यले महोत्सवको आयोजना गरिएको हो । दोलखा धार्मिक एवम् पर्यटकीय हिसावले भरिपुर्ण जिल्ला हो । तर कोरोना महामारीपछि सरकारले लामो समय जारी गरेको लकडानका कारण ठप्प भएको दोलखाको पर्यटन क्षेत्र अझै लयमा फर्कन नसकेका बेला आयोजना गरिएको महोत्सवले व्यापार व्यवसाय र पर्यटनका क्षेत्रमा टेवा पु¥याउने अपेक्षा गरिएको छ ।