images
images

आफु घेरावन्दीमा रहेको प्रधानमन्त्रीको भनाई, सवै माओवादी शक्तिलाई एकतावद्ध हुन अपिल

  • २१ फाल्गुन २०७९, आईतवार १४:२४

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवँ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफु राष्ट्रिय/अन्तराष्ट्रिय दवाव र घेरावन्दीमा रहेको बताउनुभएको छ ।

जनयुद्धको प्रमुख कमाण्डर भएका कारण सरकारमा गए लगत्तै आफुबिरुद्ध घेरावन्दी सुरु भएको उहाँले बताउनुभयो । शहिद तथा वेपत्ता योद्धा सन्तति फाउण्डेशनले काठमाडौंमा आज आयोजना गरेको अन्तरक्रियामा बोल्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताउनुभएको हो । ‘म निकै ठूलो घेरावन्दीमा छु र लडिरहेको छु’ प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘सार्वभौम संबिधान माथि समेत प्रहार भईरहेको छ ।’ प्रधानमन्त्री प्रचण्डले जनयुद्धकालिन घटनालाई लिएर आफुमाथि मुद्धा दर्ता गर्न सर्वोच्चले गरेको आदेशतर्फ लक्षित गर्दै यस विषयमा सत्ता गठबन्धनका दल र राष्ट्रपतिसँग समेत छलफल गर्ने बताउनुभयो ।

‘म निकै ठूलो घेरावन्दीमा छु र लडिरहेको छु’ प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘सार्वभौम संबिधान माथि समेत प्रहार भईरहेको छ ।’ प्रधानमन्त्री प्रचण्डले जनयुद्धकालिन घटनालाई लिएर आफुमाथि मुद्धा दर्ता गर्न सर्वोच्चले गरेको आदेशतर्फ लक्षित गर्दै यस विषयमा सत्ता गठबन्धनका दल र राष्ट्रपतिसँग समेत छलफल गर्ने बताउनुभयो ।

जनयुद्ध दिवसलाई राष्ट्रिय दिवसकोरुपमा मनाउने ऐतिहासिक निर्णय तथा सहिदको नाम राजपत्रमा प्रकाशित गरेर राष्ट्रिय सहिद घोषणा गरिए पछि प्रतिक्रियावादीहरु आतंकित भएको प्रधानमन्त्री प्रचण्डको भनाई छ । प्रतिक्रियावादीहरु माओवादीवाट त्रसित भएर षड्यन्त्र र बदनाम सुरु गरेको तथा भ्रम छरेर घेरा हाल्ने र सखाप पार्ने रणनीतिमा रहेको उहाँले बताउनुभयो । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई, नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द बिप्लव लगायत तत्कालीन नेकपा (माओवादी) का शिर्ष नेताहरु एउटै मञ्चमा उपस्थित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले सवै माओवादी शक्तिलाई एक ठाउँमा उभिन अपिल पनि गर्नुभयो ।

‘तँपाईहरुले भोगेको घेरावन्दी र लडाई पनि एउटै हो, भिन्न छैन । त्यसैले मिलेर घेरावन्दी तोडौं’ प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘टुटफुटवाट बनेका सवै भंगाला एक ठाउँमा मिसाएर विशाल सागर बनेर अघि बढौं । त्यो दिन हामी बलियो र शक्तिसाली हुनेछौं ।’ प्रधानमन्त्री प्रचण्डले माओवादी आन्दोलनको टुटफुटपछि हाँसिल गरेका तितामिठा अनुभव सवैका साझा भोगाई र अनुभव भएको भन्दै फेरी एकपटक एकै ठाउँमा उभिने समय आएको सवैलाई महशुस गर्न आग्रह गर्नुभयो ।