images
images

दोलखा उद्योग वाणिज्य संघमा सर्वसम्मत नेतृत्व चयन, अध्यक्षमा श्रेष्ठ र महासचिवमा उप्रेति

  • २१ फाल्गुन २०७९, आईतवार १९:४८

दोलखा । दोलखा उद्योग बाणिज्य संघको अधिवेशनले पुनः इन्द्रबहादुर श्रेष्ठको अध्यक्षतामा सर्वसम्मत १६ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

दोलखा सदरमुकामा चरिकोट आज आयोजित २३ औं वार्षिक साधारणसभा तथा १५ औं अधिवेशनले श्रेष्ठको अध्यक्षतामा १६ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । उद्योग बाणिज्य संघको विधानमा अधिवेशनबाट अध्यक्ष सहितका सदस्य चयन हुने र संघको पहिलो बैठकले पदाधिकारी तोक्ने व्यवस्था छ । जसअनुसार अधिवेशनले अध्यक्ष सहित १६ सदस्यीय कार्यसमिति चयन गरेको थियो ।

उद्योग बाणिज्य संघको कार्यसमितिमा प्रथम उपाध्यक्ष, द्धित्तिय उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्ष र बाँकी सदस्यहरु रहनेछन् । अधिवेशन सकिए लगत्तै आजै बसेको उद्योग बाणिज्य संघको पहिलो बैठकले संघको प्रथम उपाध्यक्षमा दिनेश पाठक, महासचिवमा सुरेश उप्रेति, कोषाध्यक्षमा श्यामकृष्ण कायस्थ र बाँकी सदस्यहरु चयन गरेको छ । अझै द्धित्तिय उपाध्यक्ष, सचिव चयन हुन बाँकी छ । उद्योग बाणिज्य संघको आज बसेको पहिलो बैठकले प्रथम उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष र सदस्यहरु मात्रै टुंग्याएको हो । जसअनुसार संघको सदस्यहरुमा कल्पना श्रेष्ठ, अनिल रिजाल, हिमाल प्रसाद न्यौपाने, श्यामसुन्दर शिवाकोटी, वलराम थापा, राजन थापा, विमल श्रेष्ठ, प्रविण श्रेष्ठ, नारायण बहादुर श्रेष्ठ, रामशरण बस्नेत, सुरेन्द्र उप्रेति, रामकुमार खड्का रहेका छन् ।

यसअघि फागुन १३ गतेका लागि तय भएको अधिवेशन विवादका कारण रोकिएको थियो । संघको वर्तमान कार्यसमितिले अवैध ढंगबाट निर्वाचन समिति बनाएको भन्दै व्यवसायीहरुले संघको कार्यालयमा तालावन्दी गरेपछि अधिवेशन रोकिएको थियो । त्यसपछि भएको छलफलबाट नयाँ पदाधिकारीको नाम सर्वसम्मत टुंग्याइएकामा आज अधिवेशनबाट सो नामावली अनुमोदन गरिएको हो । दोलखा सदरमुकाम चरिकोटस्थित सिमपानी हलमा आज आयोजित अधिवेशनको नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय उपाध्यक्ष दिनेश श्रेष्ठले उद्धघाटन गर्नुभएको थियो ।