images
images

गठबन्धन बैठकः निर्वाचन तयारी तथा अनुगमन समिति गठन

  • २२ चैत्र २०७८, मंगलवार ११:२९

काठमाडौं । सत्ता गठबन्धनको बैठकले कांग्रेस नेता रामचन्द्र पौडेलको नेतृत्वमा निर्वाचन तयारी तथा अनुगमन समिति गठन गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटरमा आज बसेको गठबन्धनको बैठकले संयोजक पौडेलसहित १० सदस्यीय समिति गठन गरेको हो । समितिमा कांग्रेसबाट महामन्त्री गगन थापा, सञ्चारमन्त्री ज्ञानेन्द्र कार्की, माओवादी केन्द्रबाट देव गुरुङ, वर्षमान पुन, एकीकृत समाजवादीबाट महासचिव वेदुराम भुसाल र उपमहासचिव विजय पौडेल, जसपाबाट अशोक राई, भौतिकमन्त्री रेणुकुमारी यादव र जनमोर्चाबाट हिमलाल पुरी सदस्य रहेका छन् । बैठकले स्थानीय तहको पार्टीगत अवस्थाबारे चैत २५ गतेभित्र केन्द्रमा रिपोर्ट गर्न निर्देशन दिएको छ । प्रदेश, जिल्ला र पालिका तहमा बनेको संयन्त्रले रिपोर्ट पठाएपछि पौडेल नेतृत्वको समितिले डाटा हेर्ने केलाउने छ । त्यसपछि सत्तागठबन्धनको चुनावी तालमेलबारे मोडालिटी तयार गरिने छ ।

बैठकले देशको अर्थतन्त्रको अवस्थालाई ध्यान दिँदै सरकारको तर्फबाट राजनैतिक दल, अर्थविद्, योजनाविद र सरोकारवाला पक्षसँग बृहत अन्तरक्रियाको आयोजना गर्ने निर्णय पनि गरेको माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका स्वकिय सचिव रमेश मल्लले जानकारी दिनुभयो । आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले भारत भ्रमणका विषयमा ब्रिफिङ  गर्नुभएको छ ।