images
images

दोलखामा सत्तारुढ दलहरुले चुनावि तालमेल गर्ने

  • २२ चैत्र २०७८, मंगलवार १६:३०

दोलखा । केन्द्रमा गरेको निर्णय अनुसार दोलखामा पनि स्थानीय तहको निर्वाचनमा चुनावि तालमेल हुने भएको छ ।

जिल्लामा क्रियाशिल गठबन्धन दलहरुले आगामी स्थानीय तह निर्वाचनमा जिल्लामा तालमेल गर्ने गरी सैद्धान्तिक निर्णय गरेका हुन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एकिकृत समाजवादीका जिल्ला नेतृत्वहरुको पहिलो बैठकले जिल्लामा केन्द्रको परिपत्र अनुसार तालमेल गरेर जाने विषयमा छलफल सुरु गरेका छन् । तर कुन–कुन स्थानीय तहमा कसरी गठबन्धन गर्ने भन्ने खाका भने बन्न बाँकी छ । सत्तारुढ गठबन्धनका नेताहरुले दोस्रो चरणमा हुने छलफलमा यस विषयमा निर्णय हुने बताएका छन् । गठबन्धन दलहरुबीच छलफल गर्न कांग्रेसले वार्ता समिति बनाए लगत्तै दोलखामा पनि तालमेलका विषयमा प्रारम्भिक छलफल सुरु भएको हो ।

बैठकमा कांग्रेस दोलखाका सभापति वर्मा लामा, नेताहरु तारा बहादुर कोइराला, रुद्र बहादुर खड्का, तारा कुमार खड्का र केशवराज चौंलागाई सहभागी थिए भने माओवादी केन्द्रबाट नेताहरु गोपाल पाण्डे र नर पाख्रिन तथा नेकपा एकिकृत समाजवादीबाट नेताहरु शिवप्रसाद भण्डारी, प्रोण प्रताव केसी र दिनेश शिवाकोटी सहभागी थिए । पहिलो बैठकमा तालमेलका विषयमा प्रारम्भिक छलफल सुरु भएको र अर्को बैठकमा आ–आफ्नो पार्टीको मोडालिटी र तालमेलका आधारहरुका विषयमा छलफल गर्ने निर्णय भएको नेकपा माओवादी केन्द्रका नेता गोपाल पाण्डेले जानकारी दिनुभयो ।

नेपाली कांग्रेसका सभापति लामाले पनि गठबन्धन दलको जिल्लास्तरीय पहिलो बैठकले संगठनको आकारका आधारमा मिलेर जाने विषयमा सहमति गरेको जानकारी दिनुभयो । नेकपा एसका पोलिटव्युरो सदस्य शिवप्रसाद भण्डारीले प्रारम्भिक छलफल सुरु भएको र यस विषयमा दोस्रो बैठकमा विस्तृतमा छलफल हुने बताउनुभयो । सत्तारुढ पाँच दलिय गठबन्धनले आगामी निर्वाचनमा चुनावि तालमेल गर्ने निर्णय गरेसँगै दोलखामा पनि चुनावि तालमेलका लागि छलफल सुरु भएको हो ।