images
images

बागमती प्रदेश प्रमुखद्वारा युवा परिषद् सम्बन्धी अध्यादेश जारी

  • २२ चैत्र २०७८, मंगलवार १८:२९

हेटौँडा । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले आज अध्यादेश जारी गर्नुभएको छ ।

मन्त्रिपरिषद्को सिफारिसमा प्रमुख शर्माले युवा परिषद् ऐन २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश जारी गर्नुभएको हो । प्रदेश प्रमुखको कार्यालयले जारी गरेको विज्ञप्तिमा संविधानको धारा २०२ को उपधारा १ बमोजिम अध्यादेश जारी भएको उल्लेख गरिएको छ ।

यस्तै बागमती प्रदेश सरकारले ४ वटा अध्यादेश ल्याउने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले एकै पटक ४ वटा अध्यादेश ल्याउने निर्णय गरेको हो । विगत लामो समयदेखि संसद्मा भएको अवरोधका कारण सरकारले एकै पटक ४ वटा अध्यादेश ल्याउन लागेको हो । जसअनुसार प्रदेश सरकारले स्थानीय तहका कर्मचारी व्यवस्थापन तथा कार्यालय सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश, प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्तहरु सम्बन्धनमा व्यवस्था गर्न बनेको अध्यादेश र मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान पहिलो संशोधन अध्यादेश ल्याउने भएको छ ।