images
images

म्यादी प्रहरीः दोलखा र रामेछापमा १८ सय ८८ जनाले पाए रोजगारी

  • २२ चैत्र २०७८, मंगलवार २१:५५

जिरी (दोलखा) । आगामी स्थानीय तहको निर्वाचनका लागि दोलखा र रामेछापमा १८ सय बढीले म्यादी प्रहरीमा रोजगारी पाएका छन् ।

दोलखामा म्यादी प्रहरीका लागि ९ सय ४२ जना र रामेछापमा ९ सय २६ जना गरी १ हजार ८ सय ८८ जनाले रोजगारी पाएका हुन् । जिल्ला प्रहरी कार्यालय दोलखा र रामेछाप प्रहरीले प्रारम्भिक स्वास्थ्य परिक्षण तथा शारिरीक तन्दुरुस्ती परिक्षण, लिखित परिक्षा र अन्तवार्ताबाट उतिर्ण भएकाहरुको अन्तिम नतिजा आज सार्वजनिक गरेका छन् । म्यादी प्रहरीका लागि यही चैत ६ गतेदेखि दरखास्त आव्ह्वान गरी छनौट प्रक्रिया सुरु भएको थियो । जिल्ला प्रहरी कार्यालय दोलखाले १ सय ४० जनालाई भने वैकल्पिकमा राखेको छ ।

यस्तै जिल्ला प्रहरी कार्यालयले ९ सय २६ जनालाई छनौट गर्दा १ सय १ सय ७३ जनालाई वैकल्पिकमा राखिएको प्रहरी निरिक्षक शंकर श्रेष्ठले जानकारी दिनुभयो । अहिले छनौट गरिएकाहरुमध्ये कोही नियुक्ति पत्र बुझ्न नआएमा वा तोकिएको संख्या भन्दा बढी म्यादी प्रहरी नियुक्त गर्नुपरेमा वैकल्पिक सूचिमा रहेकाहरुलाई वरियताक्रम अनुसार नियुक्ति प्रदान गरिने प्रहरीले जनाएको छ । आगामी बैशाख ३० गते स्थानीय तहको निर्वाचन सम्पन्न हुने भएकाले सुरक्षार्थ म्यादी प्रहरी भर्ना गरिएकोे हो ।

अर्थ मन्त्रालयले देशभर म्यादी प्रहरीका लागि ४ अर्ब ३९ करोड बजेट स्वीकृति दिइसकेको छ । म्यादी प्रहरीको रोजगार अवधि ४० दिनको हुनेछ ।