भक्तपुर । प्रतिनिधिसभाको सभामुखमा डीपी अर्याल निर्विरोध निर्वाचित भएको घोषणा भएको छ ।
आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले अर्याल सभामुखमा निर्विरोध निर्वाचित भएको घोषणा गरेका हुन् ।
गत शुक्रबार सभामुख पदमा उम्मेदवारले मनोनयन गर्ने तालिका थियो । त्यसदिन अर्यालको मात्रै उम्मेदवारी परेको थियो । त्यसअनुसार अर्याल सभामुखमा निर्विरोध निर्वाचित भएको घोषणा भएका हुन् ।
प्रतिनिधिसभा नियमावलीको नियम ७ मा सभामुखको निर्वाचनसम्बन्धी व्यवस्था छ । जसअनुसार सभामुखमा एक जनाको मात्रै मनोनयन दर्ता भए प्रतिनिधिसभामा समर्थक सदस्यले बोलिसकेपछि अध्यक्षता गर्ने व्यक्तिले प्रस्तावित सदस्य सभामुख पदमा निर्विरोध निर्वाचित भएको घोषणा भएका हुन् ।
उपसभामुखको निर्वाचन प्रक्रिया सुरु
सभामुख चयन भएसँगै अब उपसभामुखको निर्वाचन प्रक्रिया अगाडि बढ्नेछ । उपसभामुखको निर्वाचन सभामुखले तोकेको दिन र समयमा हुने व्यवस्था छ ।
संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार सभामुख र उपसभामुखमा फरक दल र फरक लिंगको व्यक्ति हुनुपर्ने प्रावधान छ । प्रतिनिधिसभामा रास्वपासहित ६ दल छन् ।










