images
images

प्रतिनिधिसभामा रास्वपाको कव्जा, राष्ट्रियसभा पुराना दललाई भागवण्डाः सरकारलाई कस्तो पर्ला असर ?

भक्तपुर । राष्ट्रियसभाको उपाध्यक्षमा नेकपा एमालेकी सांसद लिलाकुमारी भण्डारी निर्विरोध भएकी छिन् ।

उपाध्यक्षको मनोनयन दर्ताका लागि तोकेको समयमा भण्डारीको मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध भएकी हुन् । संसद सचिवालयले राष्ट्रियसभाको उपाध्यक्षका लागि आज दिउँसो ३ बजेसम्मको समय तोकेको थियो ।

उपाध्यक्षको मनोनयन दर्ताका लागि तोकेको समयमा भण्डारीको मात्रै उम्मेदवारी परेको संघीय संसद सचिवालयका सहप्रवक्ता अनन्त कोईरालाले जानकारी दिए । उनी निर्विरोध भएपनि राष्ट्रियसभा उपाध्यक्षमा निर्वाचित भएको घोषणा भने सोमबार बस्ने राष्ट्रिसभा बैठकमा हुनेछ ।

कसको भागमा के–के ?

तत्कालिन उपाध्यक्ष उर्मिला अर्यालको कार्यकाल सकिएपछि सो पद रिक्त रहेको थियो । राष्ट्रियसभामा दलहरुबीच भागवण्डाकै आधारमा भण्डारीलाई उपाध्यक्षको उम्मेदवार बनाईएको थियो । कांग्रेसलाई दुई वटा समिति सभापति दिने र एमालेले उपाध्यक्ष लिने सहमति भएको थियो ।

यस्तै, नेकपा र जसपालाई पनि एउटा/एउटा समितिको सभापति दिईएको छ । भागवण्डा अनुसार कांग्रेसले विधायन व्यवस्थापन र आर्थिक मामिला समितिको सभापति पाएको छ भने नेकपाले संघीयता सबलीकरण समिति र जसपाले सार्वजनिक नीति तथा प्रत्यायोजन विधायन समितिको साभपति पाएको छ । राष्ट्रिय सभाको अध्यक्षमा नेकपाका नारायण दाहाल रहेका छन् ।

राष्ट्रियसभामा प्रतिनिधि विहिन रास्वपा

फागुन २१ को निर्वाचनबाट प्रतिनिधिसभा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले कव्जा गरेको छ भने राष्ट्रियसभामा पुरानै दलको वर्चस्व रहेको छ । नेपालको संविधानअनुसार यो दुई सदानत्मक व्यवस्थापिका हो । कानुन निर्माणमा राष्ट्रिय सभाको पनि भूमिका हुन्छ । अहिले राष्ट्रिय सभामा रास्वपाको उपस्थिति नै छैन । राजनीतिक समीकरण फरक–फरक भएका दुईटा सभा रहेकाले अहिले दुई सदनबीच नै टसल आउनसक्छ ।

त्यसैले प्रतिनिधिसभाबाट तयार भएका विधेयकहरूलाई राष्ट्रिय सभाबाट पनि सहज रुपमा पास गराउन समस्या हुनसक्ने देखिन्छ । त्यसका लागि सभामुखले सदन बाहिरबाट पनि समन्वयात्मक भूमिका निर्वाह गर्नुपर्ने हुन्छ । फरक सदन भएपनि सभामुखले बाहिरबाट यो भूमिका निर्वाह गर्ने सके भने दुवै सदनले मिलेर कानुन बनाउन सक्छन् ।