images
images

लेटर ग्रेडिङ निर्देशिका संशोधनः कक्षा १२ मा नन ग्रेड आएको विषय मात्र पुनः परीक्षा दिन पाइने

  • २२ बैशाख २०८०, शुक्रबार १५:१०

काठमाडौं । कक्षा १२ का विद्यार्थीले नन ग्रेड आएको विषयमा मात्र ग्रेडवृद्धि परीक्षा दिन पाउने भएका छन् ।

सरकारले लेटर ग्रेडिङ निर्देशिका, २०७८ संशोधन गर्दै जति वटा विषयमा नन ग्रेड आएको छ त्यो विषयमा मात्र परीक्षा दिनुपर्ने व्यवस्था गरेको छ । आज बसेको मन्त्रीस्तरीय बैठकले विद्यार्थीले दुई वा दुई भन्दा कम विषयमा एनजी आएको अवस्थामा सोही वर्ष र त्यस भन्दा माथि जति विषयमा नन ग्रेड ल्याउँछन् ती विषयमा मात्र तीन वर्षसम्म परीक्षा दिने पाउने निर्णय गरेको हो । यो भन्दा अघि दुई वा दुई भन्दा कम विषयमा मात्र नन ग्रेड आउँदा ती विषयहरुमा मात्रै ग्रेडवृद्धि परीक्षा सोही वर्ष दिन पाउने र दुई भन्दा बढी विषयमा नन ग्रेड ल्याएको अवस्थामा अर्को वर्ष सबै विषयको परीक्षा दिनुपर्ने बाध्यात्मक व्यवस्था थियो ।

दुई विषय भन्दा माथि विषयमा नन ग्रेड लाग्दा सोही कक्षामा दोहोर्‍याएर पढ्न अथवा सबै विषयको परीक्षा दिने गाह्रोले कतिपय विद्यार्थी पढ्न छोड्ने भएकोले कक्षा १२ पछिको ड्रप आउट रोक्नको लागि यो निर्णय गरिएको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले बताउनुभयो । निर्देशिकाको यो व्यवस्थाले शैक्षिक गुणस्तरमा असर नगर्ने उहाँको जिकिर छ । एक पटक तोकिएको न्यूनतम ग्रेड प्राप्त गरेपछि सोही विषयमा दोहोर्‍याएर परीक्षा दिन उपयुक्त नहुने भएकोले संशोधन गरिएको बोर्डले जनाएको छ ।