images
images

कालिञ्चोक गाउँपालिकाका ८ वटा विद्यालयको कक्षा घटुवा

  • २२ बैशाख २०८०, शुक्रबार १९:४१

दोलखा । दोलखाको कालिञ्चोक गाउँपालिकाले विद्यार्थी कम भएका ८ वटा सामुदायिक विद्यालयको कक्षा र दरबन्दी घटुवा गरेको छ ।

गाउँपालिकाले गठन गरेको अनुगमन कार्यदलको स्थलगत अनुगमन र परिक्षामा सहभागी विद्यार्थीलाई यकिन गरेर कम विद्यार्थी भएका विद्यालयको माथिल्लो कक्षा नजिकैको अर्को विद्यालयमा समायोजन गरिएको हो । घटुवामा पर्ने आधारभुत र प्रावि तहका विद्यालय रहेका छन् । कालिञ्चोक गाउँपालिकाको शिक्षा शाखाका अनुसार वडा नम्बर ५ को देउराली प्रावि, वडा नम्बर ९ मा रहेको चण्डिदेवि प्रावि, वडा नम्बर २ बाबरेको कमला प्रावि र विन्ध्यावासिनी प्राविको कक्षा घटुवा भएको छ । यस्तै कालिञ्चोक गाउँपालिका वडा नम्बर ४ विसमुरेमा रहेको विसमुरे प्रावि, वडा नम्बर ७ को मझुवा प्रावि, वडा नम्बर ३ को पोखरे प्रावि र कालिञ्चोक ३ को मनकामना प्राविको कक्षा घटुवा भएको हो ।

गाउँपालिकाले वडा नम्बर २ मा रहेको जल्पाश्वरी मावि र प्रगतिशिल आधारभुत विद्यालयलाई समायोजन गर्ने निर्णय गरेको छ । कालिञ्चोक गाउँपालिकामा ५० वटा सामुदायिक विद्यालय रहेकोमा ८ वटा विद्यालयको तह घटुवा भएको हो । विद्यालयका कक्षा घटुवा भएपछि कटौती गरिएको ९ जनाको दरवन्दीलाई आवश्यकताका आधारमा अन्य विद्यालयमा मिलान गरिएको कालिञ्चोक गाउँपालिकाको शिक्षा शाखाकी प्रमुख रोशनी आचार्यले जानकारी दिनुभयो ।

गाउँपालिकाले वडा नम्बर ७ का वडाध्यक्ष राम बहादुर पाण्डेको संयोजकत्वमा सात सदस्यीय विद्यालय अनुगमन समिति बनाएको थियो । सो समितिले विद्यालयमा परिक्षा सञ्चालन भइरहेका अवस्थामा अनुगमन गरी पालिकाको शिक्षा शाखामा प्रतिवेदन बुझाएको थियो । सो प्रतिवेदनका आधारमा कालिञ्चोक गाउँपालिका गाउँ कार्यपालिकाको बैठकले विद्यालयको कक्षा घटुवाको निर्णय गरेको हो ।

फाइल तस्विरः