काठमाडौं । कीर्तिपुरमा बस दुर्घटना हुँदा त्रिभुवन विश्वविद्यालयका प्राध्यापकको मृत्यु भएको छ ।
रत्नपार्क–कीर्तिपुर रुटमा चल्ने बा ३ ख २०२७ नम्बरको यात्रुवाहक बस दुर्घटना हुँदा प्रा.डा. गोविन्द रिजालको मृत्यु भएको हो । उनको किर्तिपुरस्थित अस्पतालमा उपचारका क्रममा मृत्यु भएको उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता (एसएसपी) दिनेशराज मैनालीले जानकारी दिनुभयो । प्रा.डा. रिजाल त्रिभुवन विश्वविद्यालय कृषि अध्ययन संस्थाका आंशिक प्राध्यापक हुन् । दुर्घटनामा परेर अन्य ३ जना घाइते भएका छन् । घाइते हुनेमा बैतडी घर भएका २४ वर्षीय डम्बर पन्त, २४ वर्षीया विमला श्रेष्ठ र बस चालक २७ वर्षीय रमेश लामा रहेका छन् । उनीहरूको ट्रमा सेन्टरमा उपचार हुँदै छ ।
बस कीर्तिपुरस्थित आयुर्वेद अस्पतालबाट निस्केको स्कुटरलाई जोगाउने क्रममा अनियन्त्रित भइ सडकमा पल्टिएको थियो ।










