
काठमाडौं । पोर्चुगलले अनुमति बिना अवैधरुपमा बसिरहेका १८ हजार विदेशी नागरिक (आप्रवाशी) लाई देश निकाला गर्ने तयारी गरेको छ ।
समाचार संस्था एपीका अनुसार पोर्चुगलको कामचलाउ सरकारले देशमा चुनावी अभियान चलिरहेका बेला यस्तो निर्णय गरेको हो । पोर्चुगल सरकारका मन्त्री एन्टोनियो लिताओ अमारोले गैरकानूनी रुपमा बसिरहेका विदेशीहरुलाई देश छाड्न सूचना जारी गरिने बताउनुभयो ।
मन्त्री अमारोका अनुसार आगामी सातावाट देश निकालको प्रक्रिया सुरु हुनेछ । पहिलो चरणमा १८ हजार विदेशीलाई २० दिनभित्र पोर्चुगल छाड्न सूचना जारी गरिने छ ।
पोर्चुगल सरकारको यो निर्णयले नेपालीहरु समेत प्रभावित हुने भएका छन् । पोर्चुगलमा करिव ७० हजार नेपाली रहेको अनुमान छ । ती मध्ये करिव २४ हजार नेपालीले मात्रै बसोबास अनुमति पाएका छन् । पोर्चुगल पुगेका नेपाली मध्ये ५ हजार बढी राहदानी बिहिन छन् ।
पछिल्ला केही वर्ष यता राम्रो कमाइ र भबिष्य सुरक्षित हुने सपना लिएर हजारौं नेपालीहरु अवैधरुपमा पोर्चुगल छिरेका छन् । रोमानिया, सर्बिया, क्रोएसिया, पोल्याण्ड लगायतका देशवाट हिडेर पोर्चुगल प्रवेश गर्नेहरुको सँख्या उल्लेख्य छ ।
पोर्चुगलका प्रधानमन्त्री लुइस मोन्टेनेग्रोले संसदमा बहुमत गुमाएपछि राजिनामा दिएर आमचुनाव घोषणा गरेका थिए । मे १८ मा पोर्चुगलमा निर्वाचन हुँदैछ ।