images
images

नेपाल निर्माण उद्योग गम्भीर संकटमा, तत्काल नीतिगत सुधार नगरे आयोजना ठप्प पार्ने चेतावनी

  • २२ बैशाख २०८३, मंगलवार १३:५५

भक्तपुर । नेपाल निर्माण व्यवसायी महासंघले तत्काल नीतिगत हस्तक्षेप नगरे देशभरका आयोजना ठप्प पार्ने चेतावनी दिएको छ ।

नेपाल निर्माण उद्योग गम्भीर संकटमा पुगेको भन्दै महासंघले देशभरका आयोजना ठप्प पार्ने चेतावनी दिएको हो । एक साताभित्र मूल्य समायोजन सम्बन्धी ठोस निर्णय नभए देशभरका निर्माण कार्य स्वतः बन्द हुनेछन् । साथै, त्यसबाट उत्पन्न हुने सम्पूर्ण परिणामको जिम्मेवारी सरकारकै हुने बताइएको छ ।

युद्धको प्रत्यक्ष असर

३२ हजारभन्दा बढी निर्माण व्यवसायी आबद्ध रहेको यस छाता संगठनले हालको आर्थिक अवस्था, विशेषगरी पूँजीगत खर्च न्यून हुँदा पूर्वाधार क्षेत्रमा गम्भीर असर परेको जनाएको छ । मध्यपूर्वमा जारी युद्धका कारण डिजेल, मट्टितेल लगायत इन्धनको मूल्यमा अत्यधिक वृद्धि भएको र त्यसको प्रत्यक्ष असर निर्माण क्षेत्रमा परेको महासंघका पदाधिकारीले बताएका छन् ।

आयोजना प्रभावित

सिमेन्ट, डण्डी लगायत निर्माण सामग्रीको मूल्यवृद्धि र अभावले अधिकांश आयोजना प्रभावित भएका छन् । मूल्य समायोजनको व्यवस्था प्रभावकारी नभएको र नेपाल राष्ट्र बैंकको सूचकांकले वास्तविक बजार मूल्य नसमेट्दा व्यवसायी थप मारमा परेको महासंघको गुनासो छ । महासंघका अनुसार हाल राष्ट्रिय गौरवका आयोजनासहित अधिकांश साना-ठूला परियोजनाहरू लगभग ठप्प अवस्थामा पुगेका छन्।

निर्माण व्यवसायीको अनुरोध

अहिलेको परिस्थितिमा निर्माण आयोजनाहरु पूर्वनिर्धारित समयमा नै सम्पन्न हुने कुनै सम्भावना नरहेकाले बैंक ग्यारेन्टी, बीमा तथा थप क्षतिपूर्ति सहित सवै आयोजनाहरुको म्याद थप र बजेट व्यवस्थापन लागि सरकारसमक्ष अनुरोध गरिएको महासंघका अध्यक्ष निकोलस पाण्डेले बताए ।

महासंघले आफ्ना मागहरू सम्बोधन नभए चाँडै आन्दोलनका कार्यक्रम घोषणा गर्ने पनि चेतावनी दिएको छ ।