images
images

संसद् अधिवेशनको नयाँ मिति तोकियो, वैशाख २८ देखि आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस

भक्तपुर । सरकारले संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले संघीय संसद्को दुवै सदनको बैठक आह्वान गर्ने निर्णय गरेको हो । यही वैशाख २८ गते दिउँसो २ बजे अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस भएको सरकारका प्रवक्ता एवम् शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए ।

सरकारले पठाएको ८ वटै अध्यादेश राष्ट्रपतिले जारी गरेलगत्तै सरकारले संसद बैठक आह्वानका लागि सिफारिस गरेको हो । यसअघि वैशाख १७ गतेबाट आह्वान गरिएको संसद बैठक विशेष कारण देखाउँदै स्थगित गरिएको थियो । वैशाख १७ गतेका लागि आह्वान गरेको अधिवेशन भोलिपल्टै स्थगित गरेको सरकारले अधिवेशनको नयाँ मिति तोकेको हो ।

सरकारका नीति तथा कार्यक्रम र बजेट ल्याउनका लागि सरकारले बजेट अधिवेशन आह्वान गरेको हो । आगामी आर्थिक वर्षको बजेट जेठ १५ गते ल्याउनु पर्ने संवैधानिक बाध्यता छ । त्यसअघि संसद्‌मा सरकारको नीति तथा कार्यक्रम ल्याउनु पर्ने व्यवस्था छ।