भक्तपुर । आईसीसी विश्वकप लिग २ अन्तर्गत नेपालले ओमानविरुद्ध फराकिलो जित निकालेको छ। ओमानविरुद्ध पहिलो खेल हारेको नेपालले दोस्रो खेलमा बदलासहित फराकिलो जित सुनिश्चित गरेको हो ।
२५७ रनको लक्ष्य पछ्याएको ओमानलाई नेपालले १७५ रनमा रोक्दै ८१ रनको जित निकालेको हो । बलिङतर्फ नेपालका गुलशन झा एक्लैले पाँच विकेट लिए भने दीपेन्द्र सिंह ऐरी, करण केसी, नन्दन यादव र सन्दीप लामिछानेले एक–एक विकेट लिए ।
शेख दाजुभाईको उत्कृष्ट प्रदर्शन
त्यसअघि कीर्तिपुरस्थित टियु मैदानमा टस जितेर ब्याटिङ थालेको नेपालले ४९.५ ओभरमा सबै विकेट गुमाउँदै २५६ रन जोडेको थियो । नेपाललाई महत्वपूर्ण जित दिलाउनको लागि ब्याटिङमा आशिफ शेख र आरिफ शेखले उत्कृष्ट प्रदर्शन गरेका थिए ।
आरिफ शेखले अन्तिम ओभरमा लगातार तीन छक्का प्रहार गर्दै नेपालको लक्ष्य २५० पार गरे। उनले २४ बलमा ४३ रन जोडे । यस्तै, ओपनर आसिफ शेखले ९४ रनको सानदार पारी खेले ।
श्रृंखला अन्त्य हुँदा नेपाल १८ अंकसहित सातौ स्थानमा
चार खेलमा नेपालले युएईविरुद्धका दुवै र ओमानविरुद्ध एक खेल जितेको छ । ओमानसँगको पहिलो खेलमा १०२ रनको भारी अन्तरले पराजित हुन पुगेको नेपालले युएईलाई पहिलो खेलमा ३७ र दोस्रो खेलमा ६ रनले पराजित गरेको थियो । नेपालले हराएको युएईले दुवै खेलमा ओमानलाई पराजित गरेको थियो ।
नेपालले तीन, युएईले २ र ओमानले एक खेल जितेर यो श्रृंखला अन्त्य भएको छ । २४ खेलपछि नेपाल १८ अंकसहित सातौ स्थानमा छ ।



हाम्रो अपडेट 





