भारतका पाँच राज्यका चुनावी नतिजा सार्वजनिक हुँदा तमिलनाडुमा ५१ वर्षीय सुपरस्टार जोसेफ विजय चन्द्रशेखरले सुनामी ल्याएका छन् ।
उनको तमिलागा वेत्री कजागम (टीभीके) पार्टीले १०८ सिट जितेको छ । आफ्नै पार्टीको मात्र बहुमत नपुगे पनि उनले बाहिरी समर्थन जुटाएर मुख्यमन्त्रीका लागि दाबी पेस गरिसकेका छन् । यो सँगै ५९ वर्षपछि दुई द्रविडियन पार्टी डीएमके र एआईडीएमकेभन्दा अलग पार्टीले सरकार बनाउने भएको छ ।
कलाकारिताबाट राजनीतिमा आएर आश्चर्यजनक जित निकालेको हुनाले नेपालमा कतिपयले उनको तुलना प्रधानमन्त्री बालेन्द्र शाहसँग पनि गरेका छन् ।
राजनीतिको रुचीपछि फिल्ममा प्रतिबन्ध
२२ जुन १९७४ मा चेन्नईमा जन्मिएका विजयका पिता चन्द्रशेखर फिल्म निर्देशक र आमा शोभा गायिका थिए । बाल्यकालदेखि नै सिनेमा खेल्न थालेका उनले करिब ७० फिल्ममा प्रमुख पात्रका रूपमा अभिनय गरिसकेका छन् । फिल्मलाई निरन्तरता दिन बीएस्सीको पढाइ अधुरै छाडेका उनको दशकौँसम्म फिल्मका माध्यमबाट लोकप्रियता चुलियो।
राजनीतिप्रति उनको रुचि पहिलो पटक सन् २०१३ मा देखियो । त्यतिबेला हिट भएको फिल्म थलाइवाको ट्याग लाइन थियो– टाइम टु लिड । उनका पिताले अन्तर्वार्तामा विजय राजनीतिमा प्रवेश गर्न इच्छुक रहेको बताएपछि तत्कालीन मुख्यमन्त्री जयललिता उनीसँग रिसाइन् र सो फिल्मलाई तमिलनाडुमा प्रतिबन्ध लगाइदिइन्। अन्त्यमा फिल्मको ट्यागलाइन हटाएर रिलिज गरियो।
फ्यान बने कार्यकर्ता
सिनेमामार्फत कमाएको प्रशंसकलाई राजनीतिक कार्यकर्तामा उनले जसरी बदले, त्यो कम्ता नाटकीय छैन । विजयले २०२४ मा टीभीके पार्टी घोषणा गरे । यो सँगै उनका फ्यान कार्यकर्तामा बदलिए ।
तमिलनाडुभरि रहेका उनका ८५ हजार फ्यान क्लबलाई एकैपटक पार्टीमा आबद्ध गरियो । जसले एकैपटक टोलटोलसम्म उनको पार्टीको संरचना विस्तार गरिदियो । नेपालमा रास्वपाको घण्टीजस्तै टीभीकेका लागि सिठ्ठी बदलावको प्रतीक बन्यो।
सरकारले फिल्म रोकिदियो, उनी आफैँ सरकार बने
अर्को रोचक पक्ष, यो चुनाव आफैँमा फिल्मबाट उब्जिएको विवादको पृष्ठभूमिमा भएको थियो । विजयको फिल्म जननायकन गत जनवरी ९ मा रिलिज हुनेवाला थियो ।
तर, केन्द्रीय फिल्म प्रमाणन बोर्डले फिल्मको सेन्सर पास गर्न मानेन । यो मामिला अदालत पुग्यो । एक इजलासले फिल्मलाई प्रमाणीकरण गर्न आदेश दियो । तर, पुनरावेदनले फैसला उल्ट्याइदियो । आजसम्म पनि फिल्म रिलिज भएको छैन । ‘सरकारले उनको फिल्म रोकिदियो, तर, उनी आफैँ सरकार बने ।
एजेन्सीको सहयोगमा ।



हाम्रो अपडेट 






