
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकस्थित एक हाईड्रोपावरमा घाईते भएकामध्य ७ जना दोलखाका रहेका छन् ।
सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकामा हाईड्रोपावरको ढलान भत्किँदा घाईते भएका १० मजदुर मध्य ७ जना दोलखाका रहेका हुन् । हाईड्रो पावरको ढलानको काम गरिरहेका दोलखाको कालिञ्चोक गाउँपालिका – ९ का अन्दाजी ४१ वर्षीय आईतबहादुर थामी, सोही स्थानका ३१ वर्षीय विजय थामी, ३० वर्षीय दिपक थामी, ३० वर्षीय गोपाल थामी, ४० वर्षीय आईतमान थामी र ४५ वर्षीय पदमबहादुर थामी तथा बैतेश्वर गाउँपालिका–८ का ५८ वर्षीय रामचन्द्र रिमाल घाईते भएका हुन् ।
जिल्लाको भोटेकोशी गाउँपालिका –४ स्थित ईलेक्ट्रिक हाईड्रोपावरको ढलान भत्किँदा उनीहरु घाईते भएको सिन्धुपाल्चोकका प्रहरी नायव उपरिक्षक डिएसपी निरञ्जन भट्टराईले जानकारी दिनुभयो । घाईतेमध्य आईतबहादुर, विजय, दिपक, पदमबहादुर र रामचन्द्रको किस्टोन अस्पताल बाह्रबिसेमा उपचार भईरहेको छ भने गोपालको बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्रमा र आईतमानको त्यहाँ सामान्य उपचार पछि धुलिखेल रिफर गरिएको सिन्धुपाल्चोक प्रहरीले जनाएको छ ।