काठमाडौं । त्रिभुवन विश्वविद्यालयले परिक्षा सम्पन्न भएको चार दिनमै नतिजा प्रकाशन गरेको छ ।
सम्भवतः यति छोटो समयमा नतिजा सार्वजनिक गरिएको त्रिविको इतिहासमै पहिलो पटक हो । यही साउन ९ गते सकिएको मानविकी तथा सामाजिकशास्त्र सङ्काय अन्तर्गत स्नातकोत्तर तह प्रथम वर्षको परीक्षाफल प्रकाशित गरिएको छ । प्रथम वर्षको परीक्षा सकिएको चौथो दिन साउन १३ गतेदेखि नतिजा प्रकाशन सुरु गरेर आज सकिएको परिक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिनुभयो । साउन १३ गते प्रथम वर्षका अङ्ग्रेजी, नेपाली, इतिहास, ग्रामीण विकास, समाजशास्त्र, अर्थशास्त्रलगायतका विषयको नतिजा सार्वजनिक गरिएको थियो ।
यसैगरी, शनिबार भने राजनीतिशास्त्र विषयको परीक्षाको नतिजा प्रकाशन गरिएको छ । परीक्षा यही साउन २ देखि ९ गतेसम्म सञ्चालन भएको थियो । परीक्षामा ७९६ जना परीक्षार्थी सहभागी भएका थिए । त्रिविले परीक्षा सकिएको लामो समयसम्म पनि नतिजा सार्वजनिक गर्न नसकेको भन्दै आलोचना खेप्दै आएको बेला यति छिटो नतिजा प्रकाशित भएको हो ।