सिन्धुली । सवारी साधन चेक जाँचगर्ने क्रममा सिन्धुलीमा भारतीय नागरीकले ट्राफिक प्रहरीलाई नै नियन्त्रणमा लिएका छन् ।
सिन्धुलीको हिरापानीमा नियमित चेकजाँच चलिरहेका बेला भारतीय सवारमा आएका ५ जनाले ट्राफिक प्रहरीलाई नै नियन्त्रणमा लिएका हुन् । नियमित रुपमा हुने चेकजाँचका क्रममा भारतीय गाडीमा आएका ५ जनाले चेकजाँचमा अटेर गर्दै डिउटीमा खटिएका सहायक प्रहरी हवलदार सन्तोष नारायण दासलाई नियन्त्रणमा लिएका थिए । गत साउन १२ गते कमलामाई नगरपालिका–४ हिरापानी चेक पोष्टमा खटिएको दासलाई भारतीय नागरीकहरुले नियन्त्रणमा लिएर गाडी हालेर फरार भएका थिए ।
यद्धपी, अन्य प्रहरीले मोटरसाइकलबाट पिछा गरेर विपरीत दिशाबाट आएको सवारी साधनको सहयोगमा उनीहरुलाई नियन्त्रणमा लिन सफल भएको सिन्धुलीका प्रमुख प्रहरी उपरीक्षक गोविन्दराज काफ्लेले जानकारी दिनुभयो । उनीहरुलाई अपहरण तथा शरीर बन्दकको मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।