दोलखा । लागु औषध बिरुद्ध अप्रेशन चलाईरहेको दोलखा प्रहरीले करिब १२ सय गाँजाको बोट नष्ट गरेको छ ।
प्रहरीले जिल्लाको बिभिन्न स्थानमा करिब १२ सय गाँजाको बोट नष्ट गरेको हो । प्रहरीले प्राकृतिक रुपमा आफै उम्रिएका १२ सय गाँजाको बोट फँडानी गरी पुर्ण रुपमा नष्ट गरेको हो । जिल्ला प्रहरी कार्यालय दोलखाबाट प्रहरी निरीक्षक सत्रुधन कुमार महतोको नेतृत्वमा खटिएको प्रहरी टोलीले करिब ११ रोपनी जग्गामा फैलिएको गाँजाको बोट फँडानी गरी नष्ट गरेको हो ।
प्रहरीले भीमेश्वर नगरपालिकाको वडा नम्बर ३, ६ र ७ मा गाँजाको बोट फँडानी गरेको हो । नगरपालिकाको वडा नम्बर ६ मा सबैभन्दा बढी गाँजाको बोट फँडानी गरेको प्रहरीले जनाएको छ । प्रहरी निरीक्षक महतोले दोलखा प्रहरी लागुऔषध दुव्र्यसनी बिरुद्धको विशेष अप्रेशनमा रहेकाले सोही अन्तर्गत गाँजाको बोट नष्ट गरिएको बताउनुभयो ।
विगत केही महिना यता प्रहरीले लागु पदार्थ र दुव्र्यसनी बिरुद्ध अप्रेसन चलाईरहेको छ । लागुपदार्थ सहित यसको कारोवारमा संलग्न करिब एक दर्जनलाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ । प्रहरीले उनीहरुलाई ११ ग्राम खैरो हिरोईन र ठुलो मात्रामा प्रतिबन्धित ट्रमाडोल चक्की र नाईट्राबेट क्याप्सुल जस्ता लागुपदार्थ सहित पक्राउ गरेको हो ।