दोलखा । दोलखाको तामाकोशी गाउँपालिकास्थित भीरकोटमा एक्कासि सुख्खा पहिरो खस्दा ११ घरपरिवार उच्च जोखिममा परेका छन् ।
सुख्खा पहिरो जाने क्रम नरोकिएकाले भीरकोटको माथिल्लो माझि बस्तीका जोखिममा परेका ११ परिवारलाई तत्काल स्थानान्तरण गर्नुपर्ने भएको हो । बस्ती माथिबाट सुख्खा पहिरो जाने क्रम नरोकिएकाले जोखिममा परेका ११ घरपरिवारलाई तत्काल स्थानान्तरण गर्नुपर्ने अवस्था रहेको तामाकोशी गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष वसन्त बहादुर थापा क्षेत्रीले जानकारी दिनुभयो । उहाँका अनुसार पहिरोका कारण स्थानीय राजेन्द्र माझि, ललित केसी, अञ्जु माझि, डोल बहादुर खत्री, प्रकाश खत्री, गिता केसी, सिता केसी, टंक बहादुर खत्री, रमेश खत्री, पदम बहादुर कटुवाल र गोमा माझिको घर जोखिममा परेको छ । तामाकोशी गाउँपालिका वडा नम्बर १ भीरकोटको माथिल्लो माझि गाउँ नजिकै रहेको सात्ततलेको भिरबाट आज एक्कासि सुख्खा पहिरो खसेको हो । पहिरोका कारण भीरकोट हावा च्यामा सडक पनि अवरुद्ध भएको छ ।
अहिले पनि निरन्तर पहिरो खसिरहेको र घटनास्थलमा प्रहरी सहितको टोली खटिएको वडाध्यक्ष क्षेत्रीले बताउनुभयो । हालसम्म पहिरोले अन्य कुनै क्षति नपु¥याएपनि पानी परेमा भने थप जोखिम बढ्न सक्ने भएकाले पहिरो प्रभावित क्षेत्रका स्थानीयलाई सुरक्षित रहन गाउँपालिकाले आग्रह गरेको छ ।










