काठमाडौँ । सत्तारुढ नेपाली कांग्रेसले आगामी असोजबाट सय दिने अभियान सुरु गर्ने भएको छ ।
कांग्रेसले पार्टीका सबै तहका सांगठानिक गतिविधिलाई प्रभावकारी बनाउन तथा सदस्यता वितरण र नवीकरण कार्यलाई तीव्रता दिने गरि आगामी असोज १ गतेबाट पुस १० सम्म विशेष अभियान सञ्चालन गर्न लागेको हो । अभियानका लागि केन्द्रीय नेतालाई सय दिनसम्म तोकिएको जिल्लामा खट्ने गरि कार्यादेश तयार गरिसकेको कांग्रेसले जनाएको छ ।
७७ जिल्लाका लागि केन्द्रीय प्रतिनिधि छनौट गर्ने कार्य अन्तिम चरणमा पुगेको छ भने केन्द्रीय प्रतिनिधिलाई जिल्ला जानुअघि अभिमुखीकरण कार्यक्रम राखिने भएको छ । अभियानमार्फत जिल्ला पुगेका केन्द्रीय नेताले विधान बमोजिम नियमित बैठक/सम्मेलन भए नभएको खोजी गरि समस्या समाधान गर्ने कार्यादेश दिईएको छ ।
सांगठानिक कमजोरीको पहिचान गरि प्रतिनिधिले आफ्नो तहबाट गर्नसक्ने समाधान निकाल्नुपर्दछ भने स्थानीय सरकार र पार्टीको बीचमा समन्वय हुन नसक्नुको कारण समेत केन्द्रीय प्रतिनिधिले पहिचान गरेर कार्यादेश तयार गर्नुपर्नेछ । संगठनभित्र विशेषगरि २० जिल्लामा समस्या रहेको नेताहरुले बताएका छन् । केन्द्रीय प्रतिनिधिले जिल्लामा पुगेर बैठक राखेपछि मातहतका संरचनामा प्रतिनिधि खटाउने कार्यादेश समेत दिईएको छ ।