काठमाडौं । सरकारले रामेछापका ८ र दोलखाका ३ स्थानीय तहलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ ।
हिजो बसेको मन्त्रिपरिषद्को बैठकले १२ जिल्लाका ४३ वटा पालिकालाई संकटग्रस्त क्षेत्र घोषणा गरेको हो । दोलखाको गौरीशंकर गाउँपालिका, शैलुङ गाउँपालिका र बिगु गाउँपालिकालाई संकटग्रस्त क्षेत्र घोषण गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो । यस्तै, रामेछापको मन्थली, खाँडादेवी नगरपालिका, दोरम्बा शैलुङ गाउँपालिका, सुनापती गाउँपालिका, लिखु तामाकोशी, गोकुलगंगा र उमाकुण्ड गाउँपालिकालाई पनि सरकारले संकटग्रस्त घोषणा क्षेत्र गरेको छ ।
काभ्रेपलाञ्चोकको रोशी, तेमाल, बेथानचोक, चौंरीदेउराली, महाभारत गाउँपालिका, पनौती, नमोबुद्ध, मण्डनदेउपुर नगरपालिका, सिन्धुलीको गोलञ्जोर, सुनकोशीको फिक्कल गाउँपालिका, मकवानपुरको इन्द्रसरोवर, बकैया गाउँपालिका, चितवनको भरतपुर महानगरपालिका, माडी नगरपालिका, इच्छाकामना गाउँपालिका, सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका, ललितपुरको महांकाल, वाग्मती, गोदावरी नगरपालिकालाई संकटग्रस्त घोषणा क्षेत्र गरेको छ ।
धादिङको बेनीघाट रोराङ, नेत्रावती डबजोङ, गजुरी गाउँपालिका र धुनीबेसी नगरपालिका, पाँचथरको फिदिम नगरपालिका, फालेलुङ र फाल्गुनन्द गाउँपालिका, ओखलढुंगाको चम्पादेवी र उदयपुरको बेलका नगरपालिका संकटग्रस्त क्षेत्र घोषित भएका छन् ।
सरकारले यी पालिकालाई तीन महिनाका लागि संकटग्रस्त घोषण गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री गुरुङले जानकारी दिनुभयो ।