जिरी(दोलखा) । केही दिन अघि मात्रै सुचारु भएको मन्थली–किर्ने–चरिकोट सडक पुनःअवरुद्ध भएको छ ।
मालु खोला नजिकै सडक भासिएपछि फेरी दोलखा र रामेछापको सडक सञ्जालमा सम्पर्क टुटेको हो । मेलुङ गाउँपालिका–७ स्थित ज्यामिरेमा सडक भासिएर पहिरो गएपछि पुनः सडक अवरुद्ध भएको दोलखाका प्रहरी निरिक्षक दाताराम अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार केहीबेर अघि गएको पहिरोका कारण अहिले यात्रुहरु र सवारीका साधनहरु बीच बाटोमै रोकिएका छन् ।
यसअघि तामाकोशी–मन्थली सडकको किर्नेटार सडक खण्ड असोज १२ गते तामाकोशी नदीमा आएको बाढीले बगाएपछि केही दिन सडक अवरुद्ध भएको थियो । त्यसपछि दुई दिन अघि मात्रै बैकल्पिक मार्ग निर्माण गरी सडक सञ्चालनमा ल्याइएकोमा फेरी ज्यामिरेमा सडक भासिएर पहिरो गएको हो । घटनास्थलमा अहिले नेपाल प्रहरी र सडक डिभिजनको टोली पुगेका छन् ।
पटक–पटक सडक अवरुद्ध भएपछि नेपालीहरुको महान चाड बडादशैंको यो बेला विषेशगरी राजधानी हुँदै रामेछाप आउने र काठमाडौं जाने यात्रुहरुलाई समस्या भएको छ । यद्धपी साना सवारीका साधनहरु बैकल्पिक मार्ग प्रयोग गरी गन्तव्यतर्फ गरिरहेका छन् ।